• गृहपृष्ठ
  • बग्दादमा प्रदर्शन जारी : १६ प्रदर्शनकारीको मृत्यु, ४७ घाइते

बग्दादमा प्रदर्शन जारी : १६ प्रदर्शनकारीको मृत्यु, ४७ घाइते

Dec 7th, 2019

बग्दाद,२१ मङ्सिर (रासस/सिन्ह्वा)

इराकको राजधानी बग्दादमा जारी प्रदर्शनका क्रममा भएको आक्रमणमा परी कम्तीमा १६ प्रदर्शनकारीको मृत्यु भएको छ ।

अपरिचित बन्दुकधारीले शुक्रबार प्रहार गरेको गोली लागी अरु ४७ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

बग्दादको मध्य भागमा पर्ने अल खलानी स्क्वायरमा शुक्रबार बेलुकाको समयमा घटना भएको जनाइएको छ ।

“हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार शुक्रबार बेलुका भएका घटनामा परी १६ प्रदर्शनकारीको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन्,” एक सरकारी अधिकारीले भने ।

घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको र ती मध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

सुरुमा १० जनाको मृत्यु भएको र ३५ जना घाइते भएको बताइएपनि मृत्यु हुने र घाइते हुनेको संख्या पछि बढेको हो । मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

सुरक्षाकर्मीहरुले हस्तक्षेप नगर्दासम्म बन्दुकधारीहरुले धेरै घरहरुमा लगातार गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

तहिर स्क्वायर अहिले प्रदर्शनकारीहरुको मुख्य केन्द्र बनेको छ । सरकार विरोधी प्रदर्शनमा सयौँ सहभागी हुने गरेका छन् ।

सरकारको पुनर्संरचना गर्नु पर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, सार्वजनिक सेवामा सुधार गर्नुपर्ने, रोजगारी सृजना गर्नु पर्नेलगायतका माग राख्दै गत अक्टोबरको सुरुदेखि इराकमा सरकार विरोध प्रदर्शन चर्किदै गएको छ ।