• गृहपृष्ठ
  • चर्चित सद्गुरु ओशो सिद्धार्थ औलिया नेपाल आउँदै

चर्चित सद्गुरु ओशो सिद्धार्थ औलिया नेपाल आउँदै

Dec 7th, 2019

काठमाडौँ, २१ मङ्सिर (रासस)

आध्यात्मिक जागरण फैलाउन सद्गुरु ओशो सिद्धार्थ औलिया आगामी पुस पहिलो साता नेपाल आउनुहुने भएको छ । ओशोधारा सङ्घ नेपालको निमन्त्रणमा उहाँ आगामी पुस ५ गते नेपाल आउन लाग्नुभएको हो ।

नेपालमा रहँदा उहाँले ओशोधाराको उच्च तहको ध्यान कार्यक्रम सञ्चालन गर्नुहुने ओशोधारा सङ्घ नेपालका संयोजक आचार्यश्री ओशो महेन्द्रले जानकारी दिनुभयो । आगामी पुस ७ देखि १२ गतेसम्म बुटवलको मङ्गलापुरमा रहेको ‘ओशो भिलेज’मा बृहत् ‘अजपा तथा चैतन्य समाधी’ कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा ओशो सिद्धार्थ औलियासँगै ठूलो सङ्ख्यामा भारतीय साधकसाधिकाको पनि सहभागिता हुने बताइएको छ ।

ओशो सिद्धार्थ औलियालगायत साधकसाधिकालाई लुम्बिनी भ्रमण गराउने तयारी गरिएको सङ्घले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुने सो कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रियस्तरमा भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसार हुने विश्वास व्यक्त गरिएको छ ।

यसैबीच, बुद्धपुरुष ओशोको जन्मजयन्तीको अवसर पारेर ओशोधारा सङ्घ नेपालले सप्ताहव्यापी ध्यान तथा अन्तरक्र्रिया गरिरहेको छ । साप्ताहिक रुपमा राजनीतिक दलका नेता, कर्मचारी, पत्रकार, विद्यार्थी, उद्यमी, व्यवसायीलगायतसँग ध्यान, प्रेम र उत्सवका बारेमा अन्तरक्र्रिया गरिने सङ्घका संयोजक आचार्यश्री ओशो महेन्द्रले बताउनुभयो । यही मङ्सिर २५ गते ओशोको जन्मोत्सव विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । ओशो जन्मोत्सव पारेर सो दिन नेपालमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको सङ्घले जनाएको छ ।

घर, परिवार, समाज त्यागेर मात्रै आध्यात्मिक सुखशान्ति प्राप्त गर्न सकिन्छ भन्ने पुरातनवादी मान्यतालाई चिर्दै ओशोले घर, परिवार, समाज तथा व्यवसाय सम्हाल्दै ध्यानमार्फत शान्ति हासिल गर्न सकिने परिकल्पनालाई साकार पार्नुभएको थियो । मानव जीवन समस्याबाट गुज्रिरहेको र ध्यानले मात्र ती समस्या समाधान गर्छ भन्ने ओशोको मुलमन्त्रलाई उहाँका अनुयायीले विश्वभर अनुसरण गर्दै आएका छन् ।