• गृहपृष्ठ
  • कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन, ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् !

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन, ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् !

Dec 7th, 2019

पोखरा, मंसिर २१

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मासकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताउनुभएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आज (शनिवार) पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा कर्मचारीलाई निर्देशन गर्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न आग्रह गर्नुभयो ।

बाहिरै देखि मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउनेगरी काम गर्न आग्रह गर्नुभयो । तर कमजोर मनस्थिती नबनाउन आग्रह गर्दै मन्त्री अर्यालले सेवाभावका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो । जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै गल्ती नगरेसी डराउनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो । ‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त !’ मन्त्री अर्यालले भन्नुभयो, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्नु,होला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उहाँले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताउनुभयो । तर गलत काममा भने साथ नदिने बताउनुभयो । काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गर्नुभयो । काम गर्ने क्रममा विभिन्न प्रलोभनमा नपरेर राष्ट्र र जनताको सेवामा समर्पित हुन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन गर्नुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् ! इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस् ।’

मन्त्रालय नयाँ ढंगबाट अगाडी बढ्न खोजेको भन्दै उहाँले बेथितिका कारण कहिलेकाँही उर्जा पनि निराश हुनुपर्ने अवस्था आउने गरेको बताउनुभयो । सेवा प्रवाह, आचरणका क्षेत्रमा केही न केही फरकपना आइदियोस भन्ने अपेक्षा रहेको मन्त्री अर्यालले बताउनुभयो । ‘हामीमाथि औला ठडिएको छ । औला ठडिएपछि केही न केही फरकपना आउनैपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘हाम्रो आचरणमाथि प्रश्न उठेको छ । प्रश्न उठेपछि सावधानिपुर्वक कामकारबाहीमा कँही प्रश्न नउठोस् भनेर सचेत हुनुस । कँहीनेर प्रश्न पनि नउठोस् । तपाइहरू संस्कारित बन्दिनुस ।’

सहभागी गण्डकी प्रदेशभरका भूमि तथा नापी कार्यालयका कर्मचारीलाई सचेत गराउदै मन्त्री अर्यालले मन्त्रालयले नीतिगत रुपमा गरेका परिवर्तन व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकेमा भूमि व्यवस्थापनका क्षेत्रमा ठूलो क्रान्ति हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले साँच्चिकै कानुनी रुपमा जे कानुन निर्माण गरेका छौ त्यो कार्यान्वयन गर्न सकेमा भूमि व्यवस्थापनका क्षेत्रमा ठूलो क्रान्ति हुन्छ । यो कार्यान्वयन गर्ने जिम्मा तपाइहरूको हो । तपाइहरूले बढी मेहनत गर्नुपर्ने अवस्था छ ।’

मन्त्रालयले पहिलोपटक राष्ट्रिय भूमि नीति बनाएको भन्दै मन्त्री अर्यालले त्यसका आधारमा सरकारले अब एकिकृत भूमि ऐन बनाउन लागेको बताउनुभयो । सरकारले निर्माण गरेका नीति नियम पढेर अगाडी बढ्न आग्रह गर्दै उहाँले प्रविधिको प्रयोग गर्ने कुरा उदाहरणीय भएको बताउनुभयो । अब जनशक्ति धेरै नभएर जनशक्ति कम गर्दै प्रविधिबाट काम गर्नेगरी मन्त्रालय जान खोजेको बताउनुभयो ।

आफ्नो कामको समिक्षा हरेक क्षेत्रबाट गर्न सकिने भन्दै उहाँले कुन कार्यालय, विभाग, निकायमा के भइरहेको छ भनेर आफ्नो कार्यकक्षबाट हेर्न सकिने व्यवस्था गरिएको बताउनुभयो । त्यसलाई अब सबै ठाउँको लिंक गर्ने तयारीमा रहेको समेत उहाँले बताउनुभयो ।

प्रविधिलाई जोड्दा छिटो काम हुने भन्दै मन्त्री अर्यालले अब यसलाई जोड दिन कर्मचारीलाई आग्रह गर्नुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘अहिले थोरै ठाउँमा सुरू गरेको भएर नमुना कार्यालय हो । अब सबैतिर लागु हुन्छ । अबका मालपोत त नापी कार्यालय प्रविधिमैत्री कार्यालय हुन् ।’