• गृहपृष्ठ
  • शुरुभयो भोजपुर–काठमाडौँ सीधा यातायात ,कति लाग्छ गाडी भाडा ?

शुरुभयो भोजपुर–काठमाडौँ सीधा यातायात ,कति लाग्छ गाडी भाडा ?

Dec 6th, 2019

भोजपुर, २० मङ्सिर(रासस)

भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौँ सीधा यातायात शुरु भएको छ । यही मङ्सिर १६ गतेदेखि सेवा दिँदै आएको सुपर खोटाङ भोजपुर यातायात प्रालिले आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि भाडासमेत निर्धारण गरेको छ । भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँमा सुमोको रु दुई हजार र बसको रु एक हजार ७०० भाडा निर्धारण गरिएको हो ।

सुमो प्रत्येक दिन बिहान ४ः ३० बजे भोजपुर डाँडागाउँ र ५ः४५ बजे देउरालीबाट छुट्ने प्रालिका अध्यक्ष दिवाशन राईले जानकारी दिनुभयो । अहिले सुमोबाट सेवा दिइने र यात्रुको चाप बढेमा आवश्यकतानुसार अरू यातायातका साधन सञ्चालन गरिने व्यवसायीले बताएका छन् ।

छलफलमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले व्यवसायीलाई यात्राका क्रममा यात्रुसँग व्यवहार राम्रो गर्न, तोकिएभन्दा बढी भाडा नलिन तथा सुरक्षित तवरले गन्तव्यसम्म पु¥याउन आग्रह गर्नुभयो । सो मार्गबाट काठमाडौँ– भोजपुरको दूरी ३६६ किलोमिटर छ । यो भोजपुर– काठमाडौँको सबैभन्दा छोटो मार्ग हो ।