भारोत्तोलनमा नेपाललाई कास्य

Dec 6th, 2019

पोखरा, २० मङ्सिर (रासस)

१३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत आज भएको भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एक मात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारीले कास्य पदकमा सीमित हुनु परेको छ ।

पोखरा महानगरपालिका–१२ माटेपानीमा आयोजित प्रतियोगिताको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कूल २५२ केजी तौल मात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कूल २५२ तौल भार बहन गरेका हुन् ।

पाकिस्तानी र श्रीलङ्काका खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्क दबाबमा परेका थिए । प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कूल २९२ तौल उठाउँदै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यस्तै श्रीलङ्काका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कूल २६३ तौल उठाउँदै रजत पदक प्राप्त गरे । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए ।

आजै भएको पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कूल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लीन एण्ड जर्कमा १५१ गरी कूल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लीन एण्ड जर्क विधामा १५० गरी कूल २६५ तौल उठाउन सफल भएको हुन् । प्रतियोगिताअन्तर्गत नेपालले उद्घाटनको दिन एक स्वर्ण र दुई कास्य पदक भित्राइसकेको छ ।