• गृहपृष्ठ
  • ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी सातादेखि छापिने

‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी सातादेखि छापिने

Dec 6th, 2019

काठमाडौँ, २० मङ्सिर (रासस)

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो ।

केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ शुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार अहिले विभागका सात जना कर्मचारीले उपकरण सञ्चालनको तालीमसमेत लिइरहेका छन् । उनीहरुले तालीम सकेसँगै उपकरण पूर्णरुपमा चलाउन लागिएको हो । उहाँले भन्नुभयो, “एक साताभित्रमा तालीम सकाएर मास प्रिन्टर पूर्णरुपमा छपाइमा जानेछ ।”

मास प्रिन्टरले दैनिक साढे सात हजारसम्म चालक अनुमतिपत्र छाप्ने बताइएको छ । ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण ९प्रिन्टर० पनि प्रयोगमा आउने उहाँको भनाइ छ । पुरानो उपकरण कुनैमा समस्या आए पनि विभागले मर्मत गरेर सञ्चालन गरिरहेको छ ।

अहिले पनि एक कार्य समयमा छाप्दा दैनिक दुई हजार ५०० कार्ड छापिरहेको छ । तीन कार्य समयमा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उहाँले बताउनुभयो । देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी छ ।