स्वर्ण विजेता कमल कास्यमा सीमित

Dec 6th, 2019

पोखरा, २० मङ्सिर (रासस)

साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३औँ संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् ।

पोखरामा आज भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कूल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कतर्फ १४० तौल गरी कूल २५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलङ्काका खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लिन एन्ड जर्कमा दबाबमा परेका थिए ।

प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लिन एन्ड जर्कमा १५२ गरी कूल २९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलङ्काका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लिन एन्ड जर्कमा १४४ गरी कूल २६३ तौल उठाउँदै रजत जितेका छन् । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भूटानका तर्फबाट वीरबहादुर लिम्बू चौथो भए ।

शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका तर्फबाट प्रकाश केसी कास्य जित्न सफल भएका हुन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लिन एन्ड जर्कमा १६५ गरी कूल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लिन एन्ड जर्कमा १५१ गरी कूल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लिन एन्ड जर्क विधामा १५० गरी कूल २६५ तौल उठाएका हुन् । यसअघि उद्घाटनको दिन नेपालले एक स्वर्ण र दुई कास्य पदक भित्र्याइसकेको छ ।