• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु

Dec 6th, 2019

काठमाडौं, मंसिर २०

ललितपुर, कपिलवस्तु, चितवन, काभ्रे, रुपन्देही, सर्लाही र नवलपरासी(पश्चिम)का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका १३ कुसुन्तीस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.८ ख २८२६ नम्बरको टिपरमा बा.८७ प २२८५ नम्बरको स्कुटर बिहीबार राति ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटरका चालक मुगु घर भएका २५ वर्षीय पावल साउद र स्कुटरमा सवार ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने झापा घर भएकी १६ वर्षीय प्रतिमा केसीको उपचारको लागि बिएण्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका १ मडाहास्थित सडकमा कृष्णनगरबाट गणेशपुरतर्फ जाँदै गरेको लु.१ ह ३०५० नम्बरको अटो रिक्शाबाट खसेर गम्भीर घाइते भएका कृष्णनगर नगरपालिका २ झण्डे नगर बस्ने ४६ वर्षीय श्यामसुन्दर चौहानलाई उपचारको लागि अनवर मेडिकल कृष्णनगरतर्फ लैजाने बाटोमै मृत्यु भएको छ । फरार रिक्शा चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका १५ स्थित सडकमा ना.४० प ७३१३ नम्बरको मोटरसाइकल र लु.४ प ६६५० नम्बरको मोटरसाइकल बिहीबार साँझ एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका ना.४० प ७३१३ नम्बरको मोटरसाइकल चालक सोही महानगरपालिका बस्ने ३६ वर्षीय रामचन्द्र रेग्मीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लु.४ प ६६५० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका २० बस्ने २५ वर्षीय मान बहादुर मर्स्याङगीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

काभ्रेको पाँचखाल नगरपालिका ८ त्रिपन्न किलोस्थित सडकमा प्रदेश नम्बर ३-०२-००५ प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी दाउन्ने गाउँपालिका ७ बस्ने ४५ वर्षीया निरमाया तामाङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकको श्रीमान ५० वर्षीय खुशिमान तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका १० फायरलाईनस्थित सडकमा लु.१ ख ६४५९ नम्बरको ट्रकमा लु.५७ प ६५८५ नम्बरको मोटरसाइकल बिहीबार साँझ ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सैनामैना नगरपालिका १ पर्रोहा बस्ने ३४ वर्षीय केदारनाथ थारुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका १ तेलबालीस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बिहीबार राति घट्नास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका २ चिसापानीस्थित सडकमा ना.५ ख २२३४ नम्बरको बसले लु.१० प ७०६६ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दघाट नगरपालिका २ बस्ने २४ वर्षीय प्रबिन श्रेष्ठको सामुदायिक अस्पताल चिसापानीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २३ वर्षीया महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।