• गृहपृष्ठ
  • इलामको १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा

इलामको १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा

Dec 6th, 2019

मङ्गलबारे, २० मङ्सिर (रासस)

इलामको सूर्योदय नगरपालिकामा १५ श्ययाको आयुर्वेद अस्पताल सञ्चालनमा आएको छ । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाको मातहतमा सो अस्पताल सञ्चालनमा आएको हो । सूर्योदय नगरपालिका–४, आइतबारेमा रहेको मेची अञ्चल आयुर्वेद औषधालय पहिलादेखि नै सञ्चालनमा आएको भए पनि स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल बनाइएको हो । मेची अञ्चल आयुर्वेद औषधालयको सेवा विस्तार गरी १५ श्ययाको बनाइएपछि आयुर्वेद अस्पताल बनेको हो ।

प्रदेश नं १ सरकारको पहलमा स्तरोन्नति तथा सेवा विस्तार गरी इलाम, झापा, पाँचथर र ताप्लेजुङमा सेवा दिँदै आएको औषधालयलाई अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख तथा आयुर्वेदविज्ञ तीर्थ आचार्यले बताउनुभयो । अस्पतालमा अहिले पञ्चकर्म सेवा, सिरोधारा, स्थानिक बस्ती क्षार सूत्र, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा, इमर्जेन्सी सेवा, सःशुल्क फार्मेसी सेवा, विशेषज्ञ चिकित्सक सेवा सञ्चालनमा ल्याइएको छ ।

सरकारी क्षेत्रबाटै सुविधासम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन् । विभिन्न जडीबुटीको प्रशोधनबाट औषधि निर्माण गरी उक्त औषधि र विभिन्न विधिबाट बिरामीको उपचार गरिँदै आएको प्रमुख आचार्यले बताउनुभयो ।

आयुर्वेदविज्ञ आचार्यले आयुर्वेदको महत्व बुझाउनका लागि सर्वसाधारणसम्म आयुर्वेद पद्धति र यसको फाइदाबारे जानकारी गराउन लागिपरेको बताउनुभयो । कार्यालयमा अब २४सै घण्टा सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यालयको पाँचकोठे भवन मात्र भएकाले हाल भाडामा अन्य भवन लिएर अस्पताल र कार्यालय सञ्चालन गरिँदै आएको छ । आइतबारेमा अहिले दैनिक ३०० बढीले आयुर्वेद पद्धतिबाट उपचार गराउँदै आएका छन् । विसं २०३८ मा स्थापना भएको उक्त कार्यालयअन्तर्गत रहेर इलामको मङ्गलबारे, इलामबजार जमुना र एकतप्पामा सेवा सञ्चालन गरिँदै आइएको छ ।