• गृहपृष्ठ
  • सावित्रा भण्डारीको ‘ह्याट्रिक’मा नेपाली महिला फुटबल टिम फाइनलमा ,महिला फुटबलमा सावित्राको कीर्तिमान

सावित्रा भण्डारीको ‘ह्याट्रिक’मा नेपाली महिला फुटबल टिम फाइनलमा ,महिला फुटबलमा सावित्राको कीर्तिमान

Dec 5th, 2019

– कृष्ण दवाडी
कास्की, १९ मङ्सिर (रासस)

आयोजक नेपाल पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल मैदानमा आज आफ्नो दोस्रो खेलमा नेपाल सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरी लिग चरणको एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

यसअघि श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको नेपालले शनिबार भारतविरुद्ध हुने लिगको अन्तिम खेल अगावै छ अङ्क जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई फाइनलमा पु¥याउने क्रममा भण्डारीले खेलको मध्यान्तरअघि दुई तथा पछि एक गोल गरी ह्याट्रिक पूरा गर्नुभयो । सावित्राले खेलको १८ औँ मिनेटमा अनिता बस्नेतको पासको सहयोगमा हेडमार्फत गोल गरी टोलीका लागि गोलको खाता खोल्नुभयो । पहिलो गोलको चार मिनेटपछि प्राप्त अवसरलाई सदुपयोग गरी भण्डारीले अग्रता दोब्बर पार्नुभयो ।

मध्यान्तरपछिको इन्जुरी समयमा विपक्षी खेलाडीले पेनाल्टी बक्समा भण्डारीलाई फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सो अवसरलाई भण्डारीले खेर फाल्नुभएन र टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाउँदै फाइनलमा पु¥याउनुभयो । आयोजक नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा खेलाइएको थियो । प्रतियोगितामा श्रीलङ्का र माल्दिभ्सलाई पराजित गरेर छ अङ्क जोडेको भारतसमेत यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ । दुवै टोलीले फाइनलमा स्थान पक्का गरिसकेकाले शनिबार नेपाल र भारतबीच हुने लिग चरणको खेल औपचारिक मात्र हुनेछ ।

यही मङ्सिर २३ गते नेपाल र भारतका महिला फुटबल टिमले फाइनलमा स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् । खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले महत्वपूर्ण तीन अङ्क जोड्ने रणनीतिसहित मैदानमा उत्रिएको बताउँदै लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । आफूहरुको ध्यान अब फाइनलमा केन्द्रित भएको बताउँदै उहाँले लिगको अन्तिम खेलमा केही महत्वपूर्ण खेलाडीलाई विश्राम दिने सङ्केत गर्नुभयो । माल्दिभ्सका प्रशिक्षक अहमद नासिदले बलियो नेपाली टोलीलाई जित्ने लक्ष्यअनुसार आफ्नो टोलीले प्रयास गरे पनि सफल हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

महिला फुटबलमा सावित्राको कीर्तिमान

नेपाली महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारीले महिला फुटबलमा सर्वाधिक गोल सङ्ख्याको कीर्तिमान कायम गर्नुभएको छ । आज माल्दिभ्स विरुद्धको खेलमा ह्याट्रिक गरेसँगै भण्डारीले नेपालका पूर्वकप्तान अनु लामासँगको ३५ अन्तर्राष्ट्रिय गोलको बराबरी तोडेर नयाँ कीर्तिमान कायम गर्नुभएको हो । यससँगै भण्डारीको अन्तर्राष्ट्रिय खेलमा गोल सङ्ख्या ३८ पुगेको छ ।

सन् २०१४ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न तेस्रो साफ च्याम्पियनसीपमा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएकी सावित्राले भुटान विरुद्धको आफ्नो ‘डेब्यु’ खेलमै गोल गरेपछि उहाँ नेपाली फुटबलमा चर्चाको शिखरमा पुग्नुभयो । डेब्यु खेलमै गोल गर्नु जुनसुकै खेलाडीका लागि पनि कठिन हुने गरे पनि उहाँले त्यो अवसर प्राप्त गर्नुभयो । त्यसयता सावित्रा लगातार नेपाली टोलीको मुख्य खेलाडीका रूपमा रहँदै आउनुभएको छ ।

भारतको गुहावटीमा सन् २०१६ मा भएको १२ औँ सागमा उहाँले दुई गोल गर्नुभयो भने सोही वर्ष भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा सर्वाधिक १२ गोल गर्नुभयो । त्यसक्रममा उहाँ भुटान विरुद्ध दोहोरो ह्याट्रिक र माल्दिभ्स विरुद्ध पाँच गोल गर्न सफल हुनुभएको थियो । सावित्राले सन् २०१८ को ओलम्पिक छनोटमा दुई तथा सन् २०१९ मा किर्गिस्तानमा सम्पन्न नादेज्दा कपमा सात गोल गर्नुभएको थियो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उहाँको गोल सङ्ख्या दुई रहेको छ ।

गोल सङ्ख्यामा कीर्तिमान राखे पनि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि हासिल नगराउँदासम्म आफ्नो सपना साकार नहुने भण्डारीको भनाइ छ । नेपाल महिला फुटबलमा हालसम्म खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भारतसँग पराजित हुँदै उपाधिबाट विमुख हुँदै आएको छ ।

सागमा नेपालको मुख्य प्रतिस्पर्धी रहेको भारतलाई घरेलु मैदानमा पराजित गरेर स्वर्ण पदक जित्ने भण्डारीको लक्ष्य छ । उहाँ भन्नुहुन्छ, “मैले नयाँ कीर्तिमान कायम गरेको छु तर देशलाई उपाधि हासिल नगराउँदासम्म त्यसको सार्थकता छैन । प्राप्त अवसरलाई सदुपयोग गर्दै टोलीलाई उपाधि दिलाउन म लाग्नेछु ।”

जारी प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का विरुद्ध गोल गरेर कीर्तिमान कायम गर्ने लक्ष्य पूरा नभए पनि प्राप्त अवसरले औधी खुशी लागेको उहाँको भनाइ छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक खड्काले भण्डारीले महिला फुटबलमा नयाँ कीर्तिमान राखेकोमा बधाई दिँदै समग्र टोलीको कुशल प्रदर्शनले खेलाडीलाई सफल बनाउँदै लगेको उल्लेख गर्नुभयो । भण्डारीमाथि नेपाली फूटबलको ठूलो भरोसा रहेको चर्चा गर्दै उहाँले त्यो विश्वास र भरोसालाई पूरा गर्न उहाँ सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।