महायज्ञमा पाँच करोडको दान सङ्कलन

Dec 5th, 2019

बेझाड, १९ मङ्सिर (रासस)

पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित तिनाउ माविमा सञ्चालन भएको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा रु पाँच करोड बराबरको दान सङ्कलन भएको छ ।

यही मङ्सिर १२ देखि १८ गतेसम्म आयोजना भएको महायज्ञमा श्रद्धालु भक्तजन, सामाजिक सङ्घसंस्था, व्यक्ति र सरकारी अनुदानसहित रु पाँच करोड बराबरको दान सङ्कलन भएको प्रधानाध्यापक झविन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ । महायज्ञ अवधिभर श्रद्धालु भक्तजन, व्यक्ति, सामाजिक सङ्घसंस्थाबाट गरी रु एक करोड ७० लाख रकम सङ्कलन भएको छ । बाँकी रकम स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा विभिन्न सरकारी कार्यालयबाट विद्यालयको भौतिक पूर्वाधार निर्माणमा सहयोग उपलब्ध गराउने प्रधानाध्यापक ज्ञवालीले बताउनुभयो ।

पाल्पामै पहिलोपटक प्राविधिक शिक्षातर्फ अटोमोबाइल्स शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । सांसद सोमप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष रु ३० लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेशसभा सदस्य डा पुरनमान बज्राचार्य र तुलाराम घर्ती मगरले प्रदेश सरकारबाट भवन निर्माणका लागि रु एक करोड २८ लाख उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

तिनाऊ गाउँपालिकाले यो वर्ष र आगामी वर्ष गरी रु एक करोड १८ लाख बजेट भवन निर्माणका लागि विद्यालयलाई उपलब्ध गराउने घोषणा गरेको छ । पण्डित दीनबन्धु पोखरेलले सङ्गीतमय शैलीमा कथावाचन गर्नुभएको महायज्ञ अवधिभर पाँच हजारभन्दा बढी श्रद्धालु भक्तजनको सहभागिता थियो । आज महायज्ञको समापन गर्दै प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले महायज्ञमा प्राप्त रकमबाट छिटोभन्दा छिटो भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्न विद्यालयलाई अनुरोध गर्नुभयो ।

पाल्पा जिल्लामै प्राविधिकधारतर्फ अटोमोबाइल्स शिक्षा सञ्चालन हुने भएपछि यस क्षेत्रका विद्यार्थीलाई अन्यत्र पठनपाठनका निम्ति ठूलो रकम खर्चनु नपर्ने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो । प्राविधिक शिक्षातर्फ १८ महिने अटोमोबाइल्स शिक्षा सञ्चालन गर्न रु सात करोड ४१ लाख बराबरको भौतिक संरचना निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।