एक वर्षमा ९७२ ले गर्भपतन गराए

Dec 5th, 2019

पर्वत, १९ मङ्सिर (रासस)

पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् ।जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् । जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै देखिएको जानकारी दिनुभयो । गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटाले परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने गरेको भन्दै यसले समस्या निम्तिने खतरा रहेको बताउनुभयो । डा देवकोटाका अनुसार परिवार नियोजनका अस्थायी साधनको प्रयोगको अवस्था निकै न्यून रहेको छ । पर्वतमा अस्थायी साधनको प्रयोगदर ३१ प्रतिशत रहेको छ जबकि राष्ट्रियस्तरमा परिवार नियोजनको साधान प्रयोगदर ४२ दशमलव ७ प्रतिशत छ । अस्थायी परिवार नियोजनका साधन कण्डम, पिल्स, इनप्लान्ट, सङ्गीनी सुईको सर्वसुलभ व्यवस्था भए पनि प्रयोगकर्ताले झण्झट मान्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । कुश्मा नगरपालिकामा सबैभन्दा बढी ४९४ महिलाले गत वर्ष गर्भपतन गरेका छन् ।

फलेवासमा १२२, पैयुँमा १२५, विहादीमा ९८, महाशिलामा ३८ ले गत वर्ष गर्भपतन सेवा लिएका छन् । जलजला गाउँपालिकामा ६२ र मोदी गाउँपालिकामा ३३ ले गर्भपतन गराएको तथ्याङ्क छ । डा देवकोटाले धेरैपटक गर्भपतन गराउँदा महिलामा शारीरिक समस्या देखिने बताउनुभयो । उहाँले धेरैपटक गर्भपतन गर्दा पाठेघर कमजोर हुने, गर्भ राख्न चाहँदा पनि गर्भपतन हुने र भविष्यमा बाँझोपनसमेत हुने खतरा हुने बताउनुभयो । महिलालाई सकेसम्म गर्भनिरोधक अस्थायी साधानको प्रयोग गर्न डा देवकोटाको सुझाव छ ।