• गृहपृष्ठ
  • महिला ह्याण्डबलमा नेपालको विजयी शुरुआत

महिला ह्याण्डबलमा नेपालको विजयी शुरुआत

Dec 4th, 2019

चिप्लेढुङ्गा, १८ मङ्सिर (रासस)

पोखरामा भएको १३औँ संस्करणको साग खेलकूदअन्तर्गत आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुआत गरेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा नेपालले श्रीलङ्कामाथि २९–१९ गोलले पराजित गर्दै सुखद शुरुआत गरेको हो । नेपालकोतर्फबाट उमा राईले सर्वाधिक आठ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् । त्यसपछि कविता राईले ६ गोल गरिन् । त्यस्तै निशा राई र कल्पना वलीले समान चार गोलको योगदान गरे । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान दुई गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान एक गोलको योगदान दिए ।

श्रीलङ्काकोतर्फबाट भने रुवानी डीले सर्वाधिक सात गोल गर्न सफल भएकी छिन् । त्यसपछि, नाडे र सासले समान तीन गोलको योगदान दिए । हार्सिका उदय र दिलुक्सी एमले समान दुई गोल गरे । उमासिका र चानिकले समान एक गोलको योगदान दिए ।

विजेता नेपालकोतर्फबाट निशा राईले टोलीका लागि गोलको खाता खोलेकी थिइन् । त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाए । श्रीलङ्काकोतर्फबाट भने जयासिङ्घे अराच्चिगेले गोलको खाता खोलेकी थिइन् । लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरेकी थिइन् ।

घरेलु मैदानको फाइदा उठाउँदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलङ्कालाई खेल अवधिभर पूरै दबाबमा राख्न सफल रह्यो । तुलनात्मकरुपमा नेपाली खेलाडी भन्दा श्रीलङ्कन खेलाडीलाई उचाइमा साथ दिए पनि नेपाली खेलाडीको तीव्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए । टोलीले बनाएको रणनीतिक योजनाअनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए ।

श्रीलङ्कन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो । नेपालको निशा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए ।