सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Dec 4th, 2019

काठमाडौं, मंसिर १८

महोत्तरी र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । महोत्तरी, बर्दिवास नगरपालिका ५ गडन्तास्थित सडकमा बर्दिवासतर्फ जाँदै गरेको ना.५ च १२२७ नम्बरको जिप अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा जिपमा सवार भारत सिताही घर भएकी ७० वर्षीया बरतनिया महतो र धनुषा, धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया शकुन्तला देवी साहको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ एरी चोकस्थित सडकमा पार्किङ गरिराखेको ना.४ ख ५९८६ नम्बरको ट्रेलरमा मंगलगढीबाट बाङ्गेसिमलतर्फ जाँदै गरेको बा.३४ प १८६५ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका १० घुस्रा बस्ने २१ वर्षीय अरुण वलीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका २ बस्ने १६ वर्षीय सुबास बिकको प्रादेशिक अस्पताल कालागाँउ सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।