साग: उसुमा दीपक हमालले जिते स्वर्ण

Dec 4th, 2019

काठमाडौँ, १८ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जित्नुभएको छ ।

लगानखेलस्थित आर्मीको कर्भडहलमा आज भएको खेलमा उहाँले थाउलोको नानगुन अलराउन्डमा १९.३२ स्कोर प्राप्त गरेर स्वर्ण पदक जित्नुभएको हो । उसु खेलमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । यसअघि मङ्गलबार भएको उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जित्नुभएको थियो । त्यस्तै यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या २४ पुगेको छ । सोही स्पर्धामा भारतका साजन लामाले रजत जित्नुभयो भने बङ्गलादेशका अमिर हुसेनले कास्य पदक हात पार्नुभयो ।

त्यसअघि थाउलोतर्फको खेलमा श्रीलङ्काले स्वर्ण जितेपछि विवाद सिर्जना भएको थियो । नेपाल र भारतले खेलमा धाँधली भएको भन्दै निर्णयमा आपत्ति जनाउँदै खेलाडी र अफिसियलले म्याटमा धर्ना दिनुभएको थियो । सोका कारण खेल करिब ३० मिनेट रोकिएको थियो । यस स्पर्धामा श्रीलङ्काका थारिदुले स्वर्ण जित्नुभएको छ । भारतका ग्यादेश सिंहले रजत र नेपालका हरिप्रसाद गोलले कास्य पदक हात पार्नुभयो ।