• गृहपृष्ठ
  • मोरङमा जनयुद्ध उद्यान एवं सङ्ग्रहालय निर्माण हुने,नगरपालिकाका प्रमुखद्वारा रु सात करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान

मोरङमा जनयुद्ध उद्यान एवं सङ्ग्रहालय निर्माण हुने,नगरपालिकाका प्रमुखद्वारा रु सात करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान

Dec 4th, 2019

विराटनगर, १८ मङ्सिर (रासस)

मोरङको बेलबारी नगरपालिका–२ मा जनयुद्ध उद्यान सङ्ग्रहालय निर्माण हुने भएको छ । यो उद्यान महेन्द्रराजमार्गदेखि दक्षिण चार किमीको दूरीमा रहनेछ ।

सङ्ग्रहालयका निम्ति बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले रु सात करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलन र जनयुद्धको इतिहास झल्किने किसिमको बन्ने यो पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन भइरहेको र चालू आर्थिक वर्षमै यसको शिलान्यास हुने जनयुद्ध स्मृति प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । उद्यान निर्माण गर्न करिब रु एक अर्बभन्दा बढी बजेट लाग्नसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्यानका निम्ति सक्दो सहयोग गर्ने वचन प्राप्त भएको प्रतिष्ठानका सचिव बस्नेतले जानकारी दिनुभयो । करिब पाँच वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी सङ्ग्रहालयको योजना र कार्य तीव्ररूपमा अगाडि बढिरहेको छ । यसमा सङ्घीय सरकार र प्रदेश सरकारको पनि आर्थिक सहयोग हुने सचिव बस्नेतले जानकारी दिनुभयो ।

पूर्वी नेपालको सबैभन्दा आकर्षक एवं अत्याधुनिक निर्माण हुने यो उद्यान आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पनि निकै आकर्षक हुने बुझिएको छ । सङ्ग्रहालयको निर्माणपछि मोरङ बेलबारीमा महेन्द्रराजमार्गसँग जोडिएको बेतना सिमसार क्षेत्रले पनि महत्व पाउने अनुमान गरिएको छ । यी दुवै पर्यटक स्थलको दूरी करिब चार किमी मात्रैको फरकले पर्यटकहरुले दुवै क्षेत्रको भ्रमण गरेर प्रशस्त लाभ लिने विश्वास बढेको बेलबारी नगरपालिकाका प्रमुख सुवेदीको भनाइ छ ।