• गृहपृष्ठ
  • जगन चापागाईं आइएफआरसीको महासचिव पदमा चयन

जगन चापागाईं आइएफआरसीको महासचिव पदमा चयन

Dec 4th, 2019

काठमाडौँ, १८ मङ्सिर (रासस)

विश्वको सर्वोच्च मानवीय संस्था रेडक्रस तथा रेडक्रिसियन्ट सोसाइटी महासङ्घ (आइएफआरसी)को महासचिव पदमा जगन चापागाईं छानिनुभएको छ । उहाँले १ फेब्रुअरी २०२० देखि आफ्नो चार वर्षको कार्यकाल शुरुआत गर्नुहुनेछ ।

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील इन्जिनीयर चापागार्इं सो पदमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । देशीय रेडक्रसको विश्व छाता सङ्गठनलाई आइएफआरसी भनिन्छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९० देशका रेडक्रस सोसाइटी सो महासङ्घमा आबद्ध रहेका छन् ।

आइएफआरसीको मङ्गलबार बसेको गभर्निङ बोर्डको विशेष बैठकबाट चापागाईं सो पदमा छानिनुभएको आइएफआरसीले मङ्गलबार जनाएको छ । उहाँले यसअघि आइएफआरसीका एशिया प्यासिफिक क्षेत्रीय निर्देशकलगायत विभिन्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काले चापागार्इं महासचिव पदमा छानिनुभएको बैठकमा जानकारी दिनुभएको थियो । यसअघि सो पदमा इलाड सई कार्यरत हुनुहुन्थ्यो । विशेषगरी विसं २०७२ वैशाखमा नेपालका गएको भूकम्प, गत वर्ष तराई÷मधेशको डुबान प्रभावितलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहयोग जुटाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।