• गृहपृष्ठ
  • ओरेन्टलको सम्पत्ति बेच्दा दायित्वको १ प्रतिशत पनि रकम नउठ्ने, कति पाउलान् त पिडितले रकम ?

ओरेन्टलको सम्पत्ति बेच्दा दायित्वको १ प्रतिशत पनि रकम नउठ्ने, कति पाउलान् त पिडितले रकम ?

Dec 4th, 2019

काठमाडौं, १८ मंसिर
आरेन्टल पिडितले रकम नै फिर्ता नपाउने खतरा बढेको छ । ओरेन्टल सहकारीका नाममा रहेको सबै सम्पत्ति बेच्दा दायित्वको १ प्रतिशत रकम समेत संकलन नहुने देखिएको छ । दायित्वभन्दा निकै कम मात्र सम्पत्ति देखिएपछि के कसरी पिडितको रकम फिर्ता गर्ने भनेर समस्याग्रस्त सहकारीको व्यवस्थापन समिति समेत अन्यौलमा परेको छ ।

ऋणको नाममा राखिएका धितोबापतका जग्गा र ओरेन्टलको नाममा रहेको जग्गा बेच्दा साढे तिन करोड मात्रै रकम संकलन हुने देखिएको छ । सहकारीले असुल गर्नुपर्ने ऋण १२ करोड रुपैयाँ देखिन्छ । जसमध्ये अहिलेसम्म दुई करोड मात्रै उठेको छ । जसले गर्दा निक्षेपकर्ताको रकम फिर्ता नहुने खतरा पैदा भएको छ ।

सञ्चालक सुधिर बस्नेतको नाममा कुनैपनि जग्गा नभेटिएपछि समितिले अहिले ओरेण्टलका ऋणीहरुले धितोबापत राखेको जग्गा पनि लिलाम गर्न लागेको छ । ३४ स्थानमा रहेको ओरेन्टलको जग्गा बेच्दा ३ करोड जति आउने समितिको आकलन छ । त्यसैगरि ऋण नतिरेका २९ जनाले धितो बापत राखेको रकम पनि अहिले समितिले लिलाम गर्न लागेको छ । तर ओरेन्टल सहकारीका सञ्चालक सुधिर बस्नेतको नाममा भने अहिले कुनै पनि चलअचल सम्पत्ति छैन ।

ओरेन्टल सहकारीको १ अर्ब ९० करोड लगानी रहेको भेगास सिटी अपार्टमेन्ट लिलाममा लान गत साउनमा सर्बाेच्च अदालतले रोक लगाएको छ । अपार्टमेन्ट बेच्न नपाएपछि अहिले समितिले सावा रकम समेत फिर्ता गर्न नसक्ने स्थिती आएको छ । रकम उठाएर हिनामिना गरेको आरोपमा चैत १९ गते पक्राउ परेका बस्नेतलाई गत वैशाखमा सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै थुनामुक्त समेत गरेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ओरेन्टल सहकारीले निक्षेपकर्ताको १६ अर्ब १ करोड रुपैयाँ तिर्न बाँकी छ । जसमध्ये ९ करोड १२ लाख सावा हो भने त्यो बाहेकको अन्य रकम सबै ब्याज ।

ब्याजको त परको कुरा अब पिडितले सावा रकम समेत फिर्ता नपाउने स्थिती पैदा भएको छ । अपार्टमेन्ट बेच्न नपाउने हो भने १ प्रतिशत रकम पनि जुट्न सक्दैन । राज्यले पिडितको रकम फिर्ता गर्नका लागि हरखालका प्रयास गर्नु जरुरी छ ।