• गृहपृष्ठ
  • जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ लगियो

जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ लगियो

Dec 3rd, 2019

गलकोट, १७ मङ्सिर (रासस)

बागलुङमा आज बिहान भएको जीप दुर्घटनाका गम्भीर घाइते तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने तीन घाइते र एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । बेपत्तालाई बडिगाड खोलाले बगाएको हुनसक्ने स्थानीयवासीले जनाएका छन् ।

घाइते नवलपरासी बर्दघाट–२ बस्ने १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गाउँपालिका–४ का आठ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको बुर्तिवाङ स्वास्थ्य केन्द्रका डा मनोज मल्लले बताउनुभयो ।

दुर्घटनास्थलमा लडेर घाइते भएका एक बालकलाई समेत सोही हेलिकोप्टरमा काठमाडाँै लगिएको छ । उद्धारका लागि सेनाको हेलिकोप्टरमा गुल्मीका पूर्वमन्त्री गोकर्ण विष्टसमेत आउनुभएको थियो । घाइतेलाई उद्धार गरी बुर्तिवाङ स्वास्थ्य केन्द्रमा लगिए पनि थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडाँै लगिएको हो ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ को कोप्चे भन्ने स्थानबाट अनियन्त्रित भई जीप बडिगाड खोलामा दुर्घटना भएको थियो । जीप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको थियो । जीप क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रत्यक्षदर्शी इस्मा गाउँपालिका–७ गुल्मीका देवीराम कार्कीले जानकारी दिनुभयो । मृतक १४ मध्ये १० जनाको पहिचान खुलेको छ ।