• गृहपृष्ठ
  • साग: तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

साग: तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

Dec 3rd, 2019

काठमाडौँ, १७ मङ्सिर (रासस)

राजधानीमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोको ग्यारोगीतर्फ नेपालका वीरबहादुर महराले स्वर्ण पदक जित्नुभएको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा आज भएको ग्यारोगीतर्फ पुरुष ६८ केजीमुनिको तौल समूहमा भएको स्पर्धाको फाइनलमा महराले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो । महरा भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभएको थियो ।

त्यसैगरी तेक्वान्दोकी काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जित्नुभयो । उहाँले पाकिस्तानकी सैयद सिद्रा बटुललाई ५०–१४ ले पराजित गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । त्यसअघि काजलले भारतकी राधा भाटीलाई ५०–३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्नुभएको थियो ।