• गृहपृष्ठ
  • सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब जरङ्खु, काठमाडौंमा

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा अब जरङ्खु, काठमाडौंमा

Dec 3rd, 2019

काठमाडौ, मंसिर १७

काठमाण्डौँको तारकेश्वर स्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्तउ पस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०५ औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उक्त नयाँ शाखाको उदघाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप–प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवम् ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्तरुपमा गरेका थिए ।

शाखा कार्यालयको सो उदघाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाँल, तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनोज घिमिरे, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हिरामणि घिमिरे, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, नगर चेम्बर अध्यक्ष राम प्रसाद महर्जन लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु ल्याउन सदैव अग्रसर कम्पनीले तारकेश्वरका नगरपालिका लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमा शुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले कम्पनीले यहि मंसिर १४ गतेदेखि उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

ब्राण्ड एम्बेसेडर मदन कृष्ण श्रेष्ठले आफ्नो जन्मथलो समेत रहेको यस स्थानमा कम्पनीले शाखा विस्तार गरी सहजतथा सुलभ रुपमा स्थानीय वासिन्दाको पहुंचमा जीवन बीमा सेवा उपलब्ध गराउन लागेकोमा कृतज्ञता ज्ञापन गर्दै कम्पनीको समुन्नतिको लागि शुभकामना व्यक्त गरे । समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका काम गर्दै जाने तथा आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने भनाइ ब्राण्ड एम्बेसेडर हरिवंश आर्चायको थियो ।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले सिटिजन लाइफसँगको सहकार्यमा नगरवासीमाझ बीमा सचेतना अभिवृद्धि गर्न तथा जीवन बीमा योजनाहरु लैजान नगरपालिकाले सकरात्मक भूमिका निर्वाह गर्ने बताए । २०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिति सशक्त बनाउन सफल भएको जानकारी दिएको छ