• गृहपृष्ठ
  • गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग

गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग

Dec 3rd, 2019

काठमाडौँ, १७ मङ्सिर (रासस)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ कमिटीका अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा समावेश गर्न आग्रह गर्नुभएको छ । प्रत्येक पाँच वर्षमा मेला लाग्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न नेता साहले नेपाल सरकार र युनेस्कोलाई आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो । यसको पौराणिक इतिहास छ । यहाँ विश्वकै ध्यान केन्द्रित गर्ने महामेला लाग्छ । यो सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने सम्पदा सूचीकृत भए मधेशको गौरव बढ्नेछ ।

”अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवद्र्धन गरी मधेशमा पर्यटक ल्याउन सकिने पनि बताउनुभयो । उहाँले जानकीको जन्मस्थल जनकपुरस्थित जानकी मन्दिरलाई पनि विश्वसम्पदा सूचीमा समेट्न आग्रह गर्नुभयो । नेपालका १० वटा सम्पदा युनेस्कोले सूचीकृत गरे पनि प्रदेश नं २ का कुनै पनि सम्पदा हालसम्म समेटिएको छैन ।