सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

Dec 3rd, 2019

जाजरकोट, १७ मङ्सिर (रासस)

सुत्केरी ब्यथा लागेर निरन्तर रक्तश्राव हुन थालेपछि जुनीचाँदे गाउँपालिका–२ की ३१ वर्षीय कमला तिरुवालाई हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।

पुसको पहिलो हप्तामात्र सुत्केरी हुने मिति भएको बताउने उहाँलाई सोमबारदेखि सुत्केरी ब्यथाले च्याप्दा निरन्तर रक्तश्राव भएको थियो । अहिलेसम्म स्वास्थ्य संस्थामा पाइलासम्म नटेकेको बताउने तिरुवाको स्वास्थ्य अवस्था जोखिममा परेपछि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु सहानीले जानकारी दिनुभयो ।

तिरुवालाई महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धार कोषको आर्थिक सहयोगमा उद्धार गरिएको हो । योसहित जाजरकोटमा आठ जना गर्भवतीको उद्धार गरिएको छ ।