• गृहपृष्ठ
  • फ्रान्सेली सामानमा करवृद्धि गर्ने अमेरिकी योजना

फ्रान्सेली सामानमा करवृद्धि गर्ने अमेरिकी योजना

Dec 3rd, 2019

वासिङ्टन, १७ मङ्सिर (रासस/एएनआई)

अमेरिकी ट्रम्प प्रशासनले करिब २ अर्ब ४० करोड अमेरिकी डलर बराबरका फ्रान्सेली सामानमा शत प्रतिशत करवृद्धि गर्ने योजनामाथि विचार गरिरहेको छ ।

अमेरिकी कम्पनीहरु गूगल, एप्पल, फेसबुक र अमेजनमाथि डिजिटल करका रुपमा फ्रान्समा अत्यधिक करको भार थोपरिएको अनुसन्धानबाट खुलेपछि अमेरिकी प्रशासनले प्रतिशोधस्वरुप करवृद्धिको योजना बनाएको बताइएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले जारी गर्नुभएको पछिल्लो वक्तव्यमा फ्रान्सले लगाएको डिजिटल करका विरुद्ध कठोर कदम चाल्न अमेरिका बाध्य हुने उल्लेख छ । उहाँले अमेरिकी कम्पनीमाथि लक्षित गरी विभेदपूर्ण रुपमा कर लगाइएको वा निरुत्साहित गर्न खोजिएको अनुसन्धानबाट थाहा भएको बताउनुभयो ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले गत जुलाईमा फ्रान्सेली करसम्बन्धी व्यवस्थाका बारेमा अनुसन्धान गर्ने जनाएको थियो । यो अनुसन्धान अमेरिकी व्यापार कानुन १९७४ को खण्ड ३०१ बमोजिम गरिएको थियो । अमेरिकाले चिनियाँ सामानमाथि करवृद्धि गर्ने प्रस्ताव पनि यही कानुन बमोजिम गरेको थियो ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले फ्रान्सेली कर विवाद टुङ्ग्याउन अमेरिका र फ्रान्सबीच मध्यस्थ वार्ता गर्न दिएको ९० दिनको समयावधि पनि समाप्त भएको जनाएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले गत जुलाईमा डिजिटल सेवा प्रदायक कम्पनीमाथि ३ प्रतिशत कर लगाउने एउटा कानुनमा हस्ताक्षर गर्नुभएको थियो । उक्त कानुनले आफ्नो व्यवसायमा असर पर्ने भन्दै अमेरिकी प्रविधि कम्पनीहरु गूगल, फेसबुक र अमेजनले विरोध गरेका थिए ।

अमेरिकी करवृद्धि योजनामा फ्रान्सेली वाइन, चिज, मेकअप र ह्यान्डब्याग समेतका सामग्री समेटिएका छन् ।