• गृहपृष्ठ
  • रामपुरको बाहुनडाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

रामपुरको बाहुनडाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

Dec 3rd, 2019

बेझाड, १७ मङ्सिर (रासस)
—सुशीला रेग्मी

प्राकृतिक रुपमा प्रचुर सम्भावना बोकेको क्षेत्र रामपुरको बाहुनडाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । उत्तरतर्फ टल्केका हिमाल, तलतिर सलल बगेको कालीगण्डकी, रामपुरफाँट, चापाकोटफाँटलाई एकै नजरमा देखिने बाहुनडाँडा क्षेत्र विकासको अभावमा वर्षौसम्म बत्तिमुनिको अध्याँरोमा रहिरह्यो । रामपुर नगरपालिका–७ मा पर्ने यस बाहुनडाँडा क्षेत्रको पर्यटन विकासका विषयमा पछिल्लो समय धेरैले विकास गर्न माग गरेपछि यो क्षेत्रलाई नगरपालिकाले उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा समेटेको छ ।

रामपुर नगरपालिकाको कार्यपालिकाको बैठकले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेको हो । पर्यटकीय क्षेत्रका रुपमा नगरले विकास गर्न उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा समेटेपछि यहाँका स्थानीयवासीमा खुशीयाली छाएको छ । विसं २०७३ मा रामपुर नगरपालिकाले नगरभित्रका दश उत्कृष्ट पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटन विकासको काम गरिरहेको छ । अहिले बाहुनडाँडा क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरिएपछि एघार उत्कृष्ट पर्यटकीय क्षेत्र छन् । जसमा रामपुर नगरपालिका–१ स्थित टापुधाम, वडा नं ३ मा रहेको केलादी, ३ र ४ मा पर्ने सीताकुण्ड, वडा नं ५ को रामघाट, रामकुवा, राम मन्दिर, वडा नं ६ को तालपोखरा, वडा नं ७ को बाहुनडाँडा, ८ को खैरेनी सामुदायिक वन, सिद्धबाबा मन्दिर र वडा नं १० को च्याङ्गलिङ्गमा रहेको सिद्धबाबा मन्दिर छन् । ती स्थानको पर्यटन विकासका लागि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिइरहेको छ ।

उत्तरतर्फ रहेका हिमाल, पहाड, सुन्दर नगरी पाल्पाको रामपुर उपत्यका, स्याङ्जाको चापाकोट नगरपालिका, कलकल बग्दै गरेको कालीगण्डकी नदीको दृश्य यहाँबाट हेर्दा अत्यन्त मनै लोभ्याउने खालको छ । त्यसैमाथी कालिगण्डकीले घेरेको पर्यटकीय रमणीय खैरेनी सामुदायिक वनको सुन्दर दृश्यसँग यहाँ आउने जोकोहीले पनि रमाउन पुग्छन् । चिसो हावापानी, हरियाली डाँडाकाँडाबीचमा रहेको समथर भू–भाग देख्दा बाहुनडाँडा एउटा अत्यन्तै पर्यटकीय क्षेत्र रहेको अनुभूति हुन्छ तर यहाँको विकासमा सरोकारवालाले चासो नदिँदा पर्यटनको प्रचुर सम्भावना हुँदाहँुदै पनि ओझेलमा परेको छ ।

रामपुर नगरपालिका–७ को माथिल्लो भागमा रहेको यो क्षेत्रमा पुग्ने सडक मर्मत र सुधार भएपछि पर्यटकीय क्षेत्रका रुपमा नगरपालिकाले विकास गर्ने भएको हो । यहाँ प्याराग्लाडिङ, होमस्टे (घरवास), औँशेदेखि बाहुनडाँडासम्म झोलुङ्गे पुल निर्माण गरी बन्दिजम्प सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो । “यहाँ प्याराग्लाईडिङ सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ, भौतिक पूर्वाधार विकास गरेर व्यवसायिक प्याराग्लाईडिङ सञ्चालन गर्ने र यहाँको आयआर्जन बढाउने मुख्य उद्देश्यका साथ यहाँको पर्यटन विकासमा हामी लागेका छौँ” अध्यक्ष पङ्गेनीले भन्नुभयो ।

गतवर्षको पुसमा गिनिज बुकमा नाम रेकर्ड गर्न सफल अन्तरराष्ट्रिय साहसिक व्यक्तित्व सानुबाबु सुनुवारको नेतृत्वमा प्याराग्लाईडिङ उडानको सफल परीक्षण गरिएको छ । बाहुनडाँडाबाट छ वटा प्याराग्लाईडिङ उडान गरी किसानबारी खेलमैदानम सफल अवतरण गरिएपछि व्यवसायिकरुपमा प्याराग्लाईडिङ सञ्चालन गर्ने कार्यमा नगरपालिका लागेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । “रामपुर नगरपालिका क्षेत्रलाई प्याराग्लाईडिङ हबका रुपमा चिनाउने गरी प्रक्रियागतरुपमा नगरपालिका अगाडि बढेको छ” नगर प्रमुख थापाले भन्नुभयो । बाहुनडाँडाबाट छ वटा र लोस्दीबाट परीक्षणका रुपमा १६ वटा प्याराग्लाईडिङ उडान सफल भएपछि व्यवसायिकतामा नगरपालिकाले जोड दिन थालेको उहाँको भनाइ छ ।

पर्यटन विस्तारका लागि अन्यत्र ठाउँमा करोडौँ रुपैयाँ खर्चेर कृत्रिम पर्यटकीय क्षेत्रको विकास गरी पर्यटक भित्र्याउने गरेको पाइन्छ । तर यहाँ प्रकृतिले दिएको अथाह रमणीय पर्यटकीय बाहुनडाँडा क्षेत्रको विकासमा चासो कम दिँदा सधै यो क्षेत्र ओझेलमा परिरहेको छ । विकासले गति नलिँदा यहाँका स्थानीयवासी वस्ती छाडेर अन्यत्र गएक छन् । पर्यटकीय क्षेत्रका रुपमा विकास गरेपछि अब भने पुनःपुरानै थाकथलोमै फर्कने छन् । यही क्षेत्रबाट प्याराग्यालाईडिङ सञ्चालन गरेर मनग्य आम्दानी भित्र्याउन सकिन्छ ।

रामपुर नगरपालिकाले पर्यटकीय क्षेत्रका रुपमा यो क्षेत्रलाई समावेश गरेपछि गाउँ छाडेर अन्यत्र गएका वा तलतिर बसाइ सरेका स्थानीयवासी पुनः गाउँ फर्कने मनसायमा रहेको वडा सदस्य मिनबहादुर सिंजालीले बताउनुभयो । “खेतीयोग्य जमीन प्रशस्त छ, यहाँबाट तलतिरका समथर भूमि, हिमाल पहाडको दृश्य देख्न सकिने प्रकृतिले भरिपूर्ण भएको बाहुनडाँडा क्षेत्र हो, लिफ्टिङ खानेपानीको आयोजना सम्पन्न भएलगत्तै होमस्टे चलाउने स्थानीयवासीको तयारी छ” उहाँले भन्नुभयो ।

सडकको समस्या, विद्युत, खानेपानी समस्याका कारण नै यहाँको पर्यटकीय विकासमा बाधक बनेको थियो । रामपुर नगरपालिकाको केन्द्रबिन्दुबाट करिब दुई घण्टाको पैदल उकालो बाटो हिडेपछि यहाँ पुग्न सकिन्छ । अहिले सडक सुबिधा पनि पुगेको छ । यातायातका साधन सुचारु हुन थालेपछि हिजोआज भने प्रकृतीसँग रमाउन पुग्नेको बिस्तारै यहाँ चहलपहल बढ्दो छ