• गृहपृष्ठ
  • विद्युत उपभोग बढाउन प्राधिकरणले महसुल घटाउँदै

विद्युत उपभोग बढाउन प्राधिकरणले महसुल घटाउँदै

Dec 3rd, 2019

काठमाडौं,मंसिर १७

नेपाल विद्युत प्राधिकरणले विद्युत उपभोग बढाउन २० युनिट भन्दा माथिको शुल्क पनि सस्तो बनाउन थालेको छ। २१ देखि १ सय युनिट सम्मको विद्युत महसुल प्राधिकरणले सस्तो बनाउन लागेको हो । अहिले २० युनिट सम्म खपत गर्ने ग्राहकले ३० रुपैयाँ न्युनतम शुल्क र प्रतियुनिट थप ३ रुपैयाँ गरेर ९० रुपैयाँ तिरे पुग्छ । तर २० युनिट भन्दा माथि खपत गर्नेले प्रतियुनिट नै दोब्बर महंगो र न्युनतम शुल्क पनि ५० रुपैयाँ तिर्नुपर्छ ।

त्यसैगरि ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले प्रतियुनिट ८ रुपैयाँ ५० पैसा र न्युनतम शुल्क ७५ रुपैयाँ तिर्नुपर्छ । ५० युनिट देखि १ सय ५० युनिट सम्म विद्युत खरिद गर्नेलाई भने एउटै दर छ । उनिहरुले प्रतियुनिट १० र न्युनतम शुल्क एक सय रुपैयाँ तिर्नुपर्छ । तर अब भने प्राधिकरणले २० युनिट देखि १ सय युनिट सम्मका ग्राहकलाई एउटै शुल्क लगाउने र जसको महसुल ७ रुपैयाँ भन्दा बढि नराख्ने तयारी गरेको छ ।

माथिल्लो तामाकोसी सञ्चालनमा आएसँगै विद्युत खेर जाने स्थिती आउने देखिएपछि विद्युत प्राधिकरणले विद्युत महसुल नै संसोधन गर्न लागेको हो । विद्युत प्राधिकरको विद्युत महसुल शुल्क हेर्ने हो भने सबभन्दा कम खपत गर्ने ग्राहकलाई थोरै शुल्क र धेरै खपत गर्नेलाई चर्काे शुल्क असुलिरहेको देखिन्छ ।

रातको समयमा विद्युत खेर जाने स्थिती आउन लागेको भएपनि प्राधिकरणले रातको समयमा विद्युत महसुल घटाएको छैन । रातमा विद्युत महसुल केहि घट्ने हो भने रातकै समयमा विद्युत माग बढ्न सक्छ । लुगामा स्त्री लगाउने , विद्युतीय सवारी साधन चार्ज गर्ने जस्ता काम रातमा पनि गर्न सकिन्छ ।

प्राधिकरणले सिजन अनुसार र समय अनुसार महसुल निर्धारण गर्नु पर्छ । रातको समयमा विद्युत महसुल कम गर्नु पर्छ । प्राधिकरणले वर्षातको समयमा कम दरमा खरिद गर्छ ।तर बिक्री भने सधै एउटै दरमा गर्छ । जसलाई पनि समायोजन गर्न जरुरी रहेको विज्ञहरू बताउँछन् ।