‘उपनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न’

Dec 2nd, 2019

काठमाडौँ, १६ मङ्सिर (रासस)

विभिन्न राजनीतिक दलका नेताहरुले हालै सम्पन्न उपनिर्वाचनमा असन्तुष्टि व्यक्त गर्ने ठाउँ नभएको बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले निर्वाधरुपमा जनताले आफ्नो अभिमत दिन सकेको र यसले सङ्घीयता कार्यान्वयनमा बल पुगेको उल्लेख गर्नुभयो ।

नेकपाका नेता आनन्द पोखरेलले हालैको उपनिर्वाचन बिनाधाँधली सम्पन्न भएकाले निर्वाचनमा सबै दलसहित सर्वसाधारणले निर्धक्कसँग भाग लिन पाएको बताउनुभयो । उहाँले निर्वाचनमा आफनो पार्टीले ७५ प्रतिशत जितेको बताउँदै निर्वाचन परिणामबाट नेकपा खुशी भएको प्रतिक्रिया दिनुभयो । नेपाली काँग्रेसका नेता एनपी साउदले यस उपनिर्वाचनमा आफ्नो पार्टीले वामपन्थीहरुको राम्रो प्रभाव रहेको धरान र भक्तपुरमा जितेको बताउँदै उपनिर्वाचनबाट समग्रमा सरकारको जनमत भने घटेको टिप्पणी गर्नुभयो ।

राजपाका महासचिव चन्दा चौधरीले तराईका केही क्षेत्रमा राजपालाई हराउन नेकपा र नेपाली काँग्रेस गठबन्धन गरेको भएपनि आफूहरुले सफलता पाएको बताउनुभयो । राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशम्शेर जबराले राप्रपाको सहयोग र समर्थनबाट भक्तपुरमा काँग्रेसलाई विजयी बनाएकामा सन्तुष्टि व्यक्त गर्दै अबका निर्वाचनमा काँग्रेसले राप्रपालाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आफूहरुले हालै सञ्चालन गरेको जनकपुर–लुम्बिनी धार्मिक यात्रा सफल भएको बताउनुभयो ।