• गृहपृष्ठ
  • सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा लिँदै एचआइभी सङ्क्रमित

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा लिँदै एचआइभी सङ्क्रमित

Dec 2nd, 2019

भीमदत्तनगर, १६ मङ्सिर (रासस)

सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच गराइरहेका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका तथ्याङ्क सहायक धर्मानन्द गिरीले सरकारले स्थापना गरेका ‘एआरटी’ सेवा केन्द्रबाट औषधि सेवन तथा स्वास्थ्यप्रति ख्याल राख्ने सङ्क्रमित बढ्दै गइरहेको जानकारी दिनुभयो ।

“सुदूरपश्चिमका नौ जिल्लामै एआरटी सेवा केन्द्रबाट हामीले विगतदेखि स्वास्थ्यसेवा दिइरहेका छौं”, तथ्याङ्क सहायक गिरीले भन्नुभयो, “यहाँ १६ वटा एआरटी सेवा केन्द्रबाट सङ्क्रमितलाई सुविधा दिइएको छ ।” निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा एक हजार ३४५ सङ्क्रमितले नियमित स्वास्थ्य सेवा लिइरहेका छन ।

त्यसैगरी अछाममा ६४२, डोटीमा ५१५, कञ्चनपुरमा ३०७, बैतडीमा १०६, डडेल्धुरामा ९१, बझाङमा ६७, बाजुरामा ५५ र दार्चुलामा ३२ जना सङ्क्रमित नियमित सम्र्पकमा रहेर निःशुल्क स्वास्थ्य सेवा लिइरहेको गिरीले बताउनुभयो । “प्रादेशिक अस्पतालदेखि अञ्चल, जिल्ला अस्पताल हुँदै केही जिल्लामा स्वास्थ्य केन्द्रसम्म एआरटी शाखा स्थापना गरेर सेवा दिइरहेका छौं”, उहाँले भन्नुभयो, “यहाँ औषधि, सबैखालको निःशुल्क जाँचदेखि आर्थिक अवस्था कमजोर भएकालाई आवतजावतका लागि गाडी भाडाको प्रवन्ध गरिएको छ ।”

त्यसैगरी गतवर्ष यहाँका जिल्लामा गर्भवती महिलाको स्वास्थ्य जाँचका क्रममा एचआइभी परीक्षण गर्दा अछाम, कञ्चनपुर र डडेल्धुरामा ६ महिलामा यसको सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा रहेको एआरटी शाखा प्रमुख नन्दराम भट्टले नियमित स्वास्थ्यप्रति ख्याल गर्ने सङ्क्रमित बढिरहेको बताउनुभयो ।्

“यसको सङ्क्रमण हुँदा मान्छे मरिहाल्छ भन्ने गलत अपवाह छ”, उहाँले भन्नुभयो,“औषधिको नियमित सेवा र स्वास्थ्यसेवा लिँदा केही पनि हुदैन ।” पछिल्लो समय सङ्क्रमित खुलेर स्वास्थ्य संस्थामा आएर सेवा लिइरहेको भट्टको भनाइ छ ।