लागूऔषध सहित पक्राउ

Dec 2nd, 2019

काठमाडौं, १६ मंसिर

काठमाडौं महानगरपालिका ६ रामनगर बस्ने गोरखा चुमनोबी गाउँपालिका ४ घर भएका ५६ वर्षीय ओडगेन लामालाई लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २ सय २९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका ४ धुम्बराहीस्थित सडक किनारबाट लागू औषध एम्फेटामाईन २९ ग्राम, कोकिन ४ ग्राम र यावा ९९ ट्याबलेट सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनको कोठा तलासी गर्दा कोठामा लुकाई छिपाई राखेको लागूऔषध एम्फेटामाईन १ किलो २ सय ग्राम, कोकिन ८६ ग्राम र यावा ७ सय १२ ट्याबलेट बरामद गरेको हो ।

पक्राउ परेका ओडगेन लामा यसअघि २०६२ कात्तिक ७ गते ५६ केजी ४ सय ग्राम लागूऔषध चरेस सहित पक्राउ परी लागूऔषध नियन्त्रण ब्यूरोबाट मुद्दा दर्ता भई २ वर्ष ६ महिना कैद भूक्तान गरेका व्यक्ति भएको र निज भारतमा बसी नेपालको पूर्वी सिमानाका हुँदै काठमाडौंलाई केन्द्रीत गरी लागूऔषध कारोवार गर्ने मुख्य व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त ब्यूरोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।