बिडिसिए कपको उपाधि एनसिसीलाई

Dec 2nd, 2019

बैतडी, १६ मङ्सिर (रासस)

बिडिसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औँ संस्करणको उपाधि निङ्ग्लाशैनी क्रिकेट क्लब (एनसिसी)ले हात पारेको छ । उपाधि भिडन्तमा एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले पराजित गरेको हो ।

निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न फाइनल खेलमा एनसिसीले दिएको २१३ रनको विशाल लक्ष्य पन्छाएको पञ्चकोटी १६ दशमलव ४ ओभरमा ८३ रनमा सीमित रह्यो । जसमा किसन बुडालले १४ र आशिष बुडालले ११ रन बनाउनुबाहेक अन्य दोहोरो अङ्कमा रनसमेत बनाउन सकेनन् । एनसिसीका रिसिकेश बोहराले चार, गजेन्द्र बोहराले दुई र वीरेन्द्र नाथले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१२ रन बनायो, जसमा वीरेन्द्र नाथले अर्धसतकीय पारी खेल्दै ८६ रनको योगदान गरे । उत्कृष्ट प्रदर्शन गरेका वीरेन्द्रले ५० बलको सामना गर्दै ६ छक्का र ९ चौकासहित ८६ रन जोडेको हो । यस्तै खडक बोहराले ४५ र प्रकाश नाथले ४२ रन बनाए । पञ्चकोटीका दिनेश बुडाल, प्रकाश बुडाल, डम्बर बुडाल र दीपक दमाईले समान १/१ विकेट लिए । एनसिसीका लागि अलराउण्डर प्रदर्शन गरेका वीरेन्द्र नाथ म्यान अफ द फाइनल चुनिए । उपाधिसँगै एनसिसीले ३० हजार पुरस्कार पायो भने पञ्चकोटीले २० हजारमा चित्त बुझायो । एनसिसीले बिडिसिए कप उचालेको यो पाचौँ पटक हो ।