• गृहपृष्ठ
  • उपनिर्वाचन २०७६ः पचास स्थानको नतिजा सार्वजनिक

उपनिर्वाचन २०७६ः पचास स्थानको नतिजा सार्वजनिक

Dec 2nd, 2019

काठमाडौँ, १६ मङ्सिर 9रासस)

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा छ । हालसम्म घोषित ५० स्थानको मतपरिणाममा नेकपाले २९ स्थानमा विजय हासिल गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले चार स्थानमा विजय प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार तीन स्थानमा विजयी भएका छन् भने एक स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २३ वडाध्यक्ष पद जितेको छ । काँग्रेसले भने एक प्रदेशसभा सदस्य र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो । समाजवादीका उम्मेदवार चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बागलुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगबाट थाहा भएको छ । धरान उपमहानगरपालिकाको प्रमुखको पछिल्लो मतपरिणामअनुसार काँग्रेसका तिलक राईले २५ हजार ९९५ र नेकपाका प्रकाश राईले २३ हजार ३९२ मत पाउनुभएको छ ।