• गृहपृष्ठ
  • पत्रकारमाथि नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेकोमा महासंघको आपत्ति

पत्रकारमाथि नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेकोमा महासंघको आपत्ति

Dec 1st, 2019


काठमाडौं, १५ मंसिर
हिजो भएको उपनिर्वाचनको क्रममा समाचार संकलनमा रहेका नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्यसमिति सदस्य तथा कालिका मिडियाका समाचारप्र मुख राजु सापकोटा लगायतका पत्रकारमाथि नेकपाका कार्यकर्ताले दुर्व्यवहार गर्दै क्यामेरामा कैद गरिएको सामग्री मेटाइदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर १६ को श्री मा. वि. ढड्डाघारी मतदान केन्द्रमा समाचार संकलनका क्रममा भोजभतेर लगायतका गतिविधि क्यामेरामा कैद गरिरहेका पत्रकार सापकोटालाई सत्तारुढ दलका कार्यकर्ताले दुर्व्यवहार गर्दै जबरजस्ती रुपमा सामग्री डिलिट गराएका थिए । उनीहरुले पत्रकारद्वय महेन्द्रराज श्रेष्ठ र कृष्ण सुनुवारको क्यामेरामा कैद गरिएको सामग्री पनि डिलिट गराएका थिए । महासंघका अनुसार पत्रकारमाथि दुर्व्यवहार र सामग्री मेटाउने काम हुँदा चितवनका एसपी दानबहादुर मल्ल र सुरक्षा प्रमुखहरु मुखदर्शक बन्नु दुःखद् पक्ष हो ।

जिम्मेवार पार्टीका कार्यकर्ताबाट संवैधानिक जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई गरिएको दुर्व्यवहार र क्यामेरा कैद गरिएको सामग्री मेटाएको यो घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारको हनन् भएको महासंघको ठहर छ । महासंघ पत्रकारलाई हतोत्साहित बनाउने यस्तो कार्यको कडा शब्दमा भर्तसना गर्दछ । घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासनसँग माग गर्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पार्टीको ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।