प्रधानमन्त्री ओलीको घाउ निको हुँदै

Dec 1st, 2019

काठमाडौँ, १५ मङ्सिर (रासस)

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

उहाँको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले रासससँग भन्नुभयो ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिँडडुल गर्न थाल्नुभएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो “हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।”

अरु बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ । घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले बताउनुभयो ।