• गृहपृष्ठ
  • सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी

सुदूरपश्चिमका पाँच वडामा नेकपा र दुई वडामा कांग्रेस विजयी

Dec 1st, 2019

डोटी, १५ मङ्सिर (रासस)

सुदूरपश्चिमका पाँच जिल्लाका सात वटा वडामा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा पाँच वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र दुई वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६६८ ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउदले कूल ६५६ मत प्राप्त गर्नुभएको छ । वडाभरिमा कूल दुई हजार ४०० मतदाता रहेकामा कूल एक हजार ५९० मत खसेको तथा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको विसं २०७५ जेठ १५ गते जीप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।

त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका कृष्णबहादुर तामाङ ५२८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर तामाङले ३१० मत प्राप्त गर्नुभएको छ । उक्त मतदानमा कूल ९२४ मत खसेको थियो । स्थानीय तहको निर्वाचनमा वडा नं।३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

त्यसैगरी अछामको मेल्लेख गाउँपालिका–५ को विन्ध्यवासिनीको उपनिर्वाचमा नेकपाका रमेश खड्का ७७८ मत ल्याई विजयी बन्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर बोहराले ५६३ मत ल्याउनुभएको छ । गएको चुनावमा उक्त वडामा कांग्रेस विजयी भएको थियो । कूल एक हजार ९०० मतदाता रहेको विन्ध्यवासिनीमा एक हजार ३५७ मत खसेको थियो । सोह्र मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । गएको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उपनिर्वाचन भएको हो ।

त्यस्तै बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा नेकपाका मनराज बुढा विजयी हुनुभएको छ । कांग्रेसबाट उम्मेदवार बन्नुभएका खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । विजयी बुढाले ३६७ मत प्राप्त गर्नुभएको छ । तत्कालीन वडाध्यक्ष खम्म नेपालीको विसं २०७५ असार १३ गते जीप दुर्घटना परी निधन भएपछि अहिले उपनिर्वाचन भएको हो ।

बैतडी जिल्लामा पनि शनिबार राति नै मतगणना सम्पन्न भएको छ । उपनिर्वाचन सम्पन्न बैतडीका तीन वडामध्ये दुई वडामा कांग्रेस, र एक वडामा नेकपा विजयी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ मा कांंग्रेसका सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक र सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

पुर्चौडी नगरपालिका–४ मा नेकपाका धानुक १०५ मत बढी लिएर विजयी हुनुभएको छ । कूल खसेको एक हजार ३३० मतमध्ये विजयी धानुकले ६६३ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दबहादुर धामीले ५५८ मत प्राप्त गर्नुभएको छ ।

सुर्नया गाउँपालिका–१ मा भएको मतदानमा खसेको जम्मा ४३८ मतमध्ये २१९ मत प्राप्त गर्दै कांग्रेसका चन्द विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत प्राप्त गर्नुभयो । चार मत बदर भएको छ ।

दोगडाकेदार–४ र पुर्चौडी–४ मा यसअघि विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपाका उम्मेदवार विजयी भएका थिए भने सुर्नया गाउँपालिका–१ मा कांग्रेसमा उम्मेदवार विजयी भएका थिए ।