• गृहपृष्ठ
  • नविकरण गर्नै छाडे स्वास्थ्य बिमा, कुल जनसंख्याको ८ प्रतिशत मात्रै पहुँचमा

नविकरण गर्नै छाडे स्वास्थ्य बिमा, कुल जनसंख्याको ८ प्रतिशत मात्रै पहुँचमा

Dec 1st, 2019

काठमाडौं, मंसिर १५

स्वास्थ्य बिमा कार्यक्रममा जनताको आकर्षण घट्दै गएको छ । बिमा कार्यक्रमले सिफारिस गरेको अस्पतालबाट राम्रो सेवा र औषधि नपाएपछि अहिले बिमा गर्नेमध्ये ७० प्रतिशत व्यक्तिले मात्र नवीकरण गर्ने गरेका छन् ।

४९ जिल्लाका २४ लाख मानिस स्वास्थ्य बिमाको दायरामा आएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । जुन कुल जनसंख्याको ८ प्रतिशत मात्रै हो ।

ठूला भनिएका रोगको उपचार बिमाले तोकेको छैन । आकस्मिक सेवा, ‘ओपीडी’ सेवा, औषधि लगायत सामान्य उपचारमात्र बिमाको माध्यमबाट गर्ने व्यवस्था छ । जसका कारण पनि यसमा खासै आकर्षण नभएको बिज्ञहरु बताउँछन् ।

बिमाले तोकेको सेवा समेत धेरै अस्पतालमा नभएका कारण स्वास्थ्य बिमाप्रति मानिसको आकर्षण बढ्न नसकेको हो ।

अस्पतालमा भने बीमितप्रति फरक व्यवहार देखाइने गुनासो पनि आउने गरेको छ । औषधि नदिने मात्र नभई उपचारमा पनि प्रथामिकता दिइँदैन ।

बीमा बोर्डले तोकिएका स्वास्थ्य संस्थाले ११ सय १८ प्रकारका औषधिको सुविधा बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने बताएको छ । तर, अस्पतालले सामान्य औषधि पनि बिरामीलाई दिँदैनन् ।

सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँचमा पुराउने उद्देश्यसहित २०७२ सालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । बिमा सुरु भएको तीन वर्ष बितिसक्दा पनि त्यसप्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन ।

स्वास्थ्य बिमा गरेवापत् दुई अर्ब ५० करोड रकम उठेको छ । सरकारले यस वर्ष स्वास्थ्य बिमाका लागि ६ अर्ब रकम छुट्याएको छ ।

सुरुमा पाँचजनाको परिवारले वर्षको दुई हजार ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचार प्राप्त गर्ने व्यवस्था गरिएको थियो । त्यसपछि बिमा रकम र सेवा रकम समेत बढाइयो । तर पनि आकर्षण भने बढ्न सकेको छैन ।