त्रिविको वार्षिक बजेट २३ अर्ब ५ करोड

Nov 30th, 2019

काठमाडौं, १४ मंसिर
त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६-७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको लागि शुक्रवार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतिद्धारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो ।

त्रिविले नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन र पुँजीगत खर्च गरी कुल ८ अर्ब ५१ करोड ४५ लाख तथा विकासतर्फ ६१ करोड ८५ लाख रकम विनियोजन भएको छ । जसमा पूँजीगत खर्च ३ अर्ब ६४ करोड १८ लाख ५६ हजार र सञ्चालन खर्चतर्फ १९ अर्ब ४१ करोड ७० लाख १२ हजार विनियोजन गरेको छ । जसमा विश्वविद्यालय अनुदान आयोगबाट कुल १३ अर्ब ३ करोड ४३ लाख ६८ हजार अनुदान प्राप्त हुने र बाँकी त्रिविको आन्तरिक आम्दानीबाट व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ । त्रिविमा शिक्षणतर्फको वार्षिक तलबमा हुने खर्च ५ अर्ब ४० करोड ५६ लाख ३७ हजार र प्रशासनीक कर्मचारीको तलबमा हुने खर्च ४ अर्ब १२ करोड ३६ लाख ६७ हजार विनियोजन भएको छ ।

त्रिविमा हाल शिक्षण कर्मचारीतर्फ ७ हजार ९ सय ३८ र प्रशासनीक एवं प्राविधिक कर्मचारीतर्फ ८ हजार १ सय २४ कर्मचारी कार्यरत रहेका छन् । गत आर्थिक वर्ष २०७५\७६ मा नेपाल सरकारबाट ६ अर्ब ७२ करोड ३८ लाख ५४ हजार अनुदान प्राप्त भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०७४\०७५ मा ६ अर्ब ६७ करोड ६५ लाख अनुदान प्राप्त भएको थियो । त्रिविको अघिल्लो आर्थिक वर्ष २०७४\०७५ को वास्तविक खर्च १२ अर्ब ४६ करोड ५ लाख ५८ हजार रहेको थियो । यसैगरी त्रिविले अनुसन्धान तथा विकास खर्च शीर्षकमा १५ करोड ३० लाख ७६ हजार विनियोजन गरेको छ भने विद्यार्थी कल्याण खर्च शीर्षकमा १० करोड ९ लाख ९० हजार रकम विनियोजन भएको छ । यसै बजेटको परिधिभित्र रहेर त्रिविले यस वर्ष स्ववियु निर्वाचन समेत गर्नुपर्नेछ । यसैगरी छात्रवृत्ति शीर्षकमा ३ करोड ७१ लाख ४६ हजार विनियोजन गरिएको छ । परीक्षा सञ्चालन खर्च ८२ करोड ३१ लाख १० हजार विनियोजन भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिविका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले विश्वविद्यालयका उपलब्धी, समस्या र समस्या समाधानको बाटो स्पष्ट हुने गरी त्रिविले खाका तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले कुलपतिले समेत विश्वविद्यालय नयाँ पद्धतीबाट चलाउन निर्देशित गर्नुभएको जानकारी दिनुहुँदै पुराना प्रणालीलाई भत्काउँदै नयाँ प्रणाली निर्माण गरेर अगाडि बड्न विश्वविद्यालयको कार्य पद्धति, विधि र दीक्षान्त समारोह लगायतलाई नयाँ पद्धतीमा व्यवस्थित गर्नुपर्ने बताउनु भयो । वर्तमान बद्लिएको परिस्थितिमा तीन तहको सरकार निर्माण भइसकेकोले देश नयाँ युगमा प्रवेश गरेको हुँदा अब विश्वविद्यालयले पनि नयाँ ढँगले जनशक्ति उत्पादन गर्नुपर्ने बताउनु भयो । त्रिविको भिजन २०२०-३० लाई टेकेर विश्वविद्यालयलाई व्यवस्थित बनाउने र ऐतिहासिक ढँगले गौरवशाली इतिहास भएको विश्वविद्यालयलाई नयाँ बनाउने योजना चाहिने धारणा व्यक्त गर्नुभयो । विश्वविद्यालयको व्यवस्थापन राज्यले गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विश्वविद्यालयमा अब संघीयताको मोडलत्रि त्रिविको संरचना कस्तो बनाउने भनेर बहस हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विश्वविद्यालय अनुसन्धान, खोजी र नवप्रवर्तनको ठाउँ भएकोले यसलाई सोहि अनुरुप उपयोग गरिने बताउनुहुँदै उहाँले विश्वविद्यालयलाई सेन्टर फर एक्सलेन्सीको रुपमा विकास गर्ने शुरुवात कीर्तिपुरबाट नै गर्ने सोच सरकारले लिएको बताउनु भयो । विगतमा राजनीतिक उद्देश्य पुर्तिको थलो विश्वविद्यालय हुने गरेकोले समस्या आएको बताउनुहुँदै उहाँले अब त्यसको अन्त्य गरी आगामी दिनमा प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा केन्द्रीत गरिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले त्रिविलाई प्राज्ञिक उत्कृष्टताको केन्द्र बनाउनुको विकल्प नरहेको उल्लेख गर्नुहँुदै १५ बुँदे कार्ययोजना सहित लक्ष्य प्राप्तिमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्रिविको भौतिक पुर्वाधारमा सुधार गर्ने, प्रविधिमैत्री विश्वविद्यालय बनाउने, अनुसन्धान कार्यलाई प्राथमिकता दिने, त्रिविका अनुसन्धान केन्द्रहरुलाई सरकारको थिन्कट्याँकको रुपमा विकास गर्ने, निश्चित शैक्षिक पात्रोको व्यवस्था र कडाइका साथ पालना गराउने, परीक्षा प्रणालीमा व्यापक सुधार र विकेन्द्रीकरण गर्ने, तीन महिनाभित्र नतिजा प्रकाशनको लागि व्यवस्था गर्ने, प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयको व्यवस्था गर्ने, बजारमुखी, स्वरोजगारमूलक तथा देशको आवश्यकता अनुसारको जनशक्ति निर्माणमा जोड दिने, प्राध्यापकहरुको क्षमता अभिवृद्धि गरी पेशाप्रति उत्प्रेरणा जगाउने, आङ्गिक तथा सम्बन्धनप्राप्त कलेजहरुको प्रभावकारी नियमन गर्ने, सरकार र उपभोक्ताहरुसंग समन्वय गरी पाठ्यक्रम परिार्जन गर्दै जाने, उच्च शिक्षातर्फ अन्तर्राष्ट्रियकरण गर्दै लैजाने, विद्यार्थी वर्गको लागि खेलकुदको व्यवस्था गर्ने, दश प्रतिशत छात्रवृत्ति कोटालाई कडाइका साथ लागु गर्ने, त्रिविको सम्पत्ति पहिचान गर्ने, नियमन गर्ने, संरक्षण गर्ने र संस्थागत हितमा अधिकतम् प्रयोग गर्ने, त्रिवि एलुम्नाई एशोसिएशनमार्फत विश्वविद्यालयको हितमा विज्ञता अनुसारको सहयोग प्राप्त गर्ने, सुशासनमा जोड दिने, निवृत्त विद्धानहरुको सल्लाहकार समूह बनाउने तथा त्रिवि ऐन, नियम एवं विनियमहरुको समयसापेक्ष परिमार्जन तथा संशोधन गर्दै कानुनी रुपमा विश्वविद्यालयलाई सबल बनाउने लगायतका कार्ययोजनाहरु रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कृतज्ञता ज्ञापन गर्नुहुँदै त्रिविका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले सबैले मुलभुत रुपमा त्रिविको हितमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले त्रिविलाई सरकारी विश्वविद्यालय भनिएता पनि सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा गुणस्तरीय र निःशुल्क रुपमा उच्च शिक्षा दिन नसकिएको र विश्वविद्यालयको सम्पूर्ण बजेटको दायित्व सरकारले लिनुपर्ने बताउनु भयो । स्कुल तहको शिक्षा नीति बनाउँदा सरकार चनाखो देखिएको भएता पनि उच्च शिक्षा नीति निर्माणमा सरकार अल्मलिएको र विश्वविद्यालयका पदाधिकारीहरुसंग परामर्श गर्ने नगरेको बताउनु भयो । अति राजनीतिकरणले विश्वविद्यालयको गुणस्तर खस्किँदै गएको बताउनुहुँदै उहाँले त्रिविले पूर्ण स्वायत्त हुन नपाएको धारणा व्यक्त गर्नुभयो । सुधार गर्न सकिने थुप्रै समस्या भए पनि राजनीतिक दवावका कारण सुधारका कार्यहरु अगाडि बढाउन बाधा परेको बताउनुहुँदै उहाँले उच्च शिक्षालाई राजनीतिबाट मुक्त हुने अवस्था दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बजेट वक्तव्य दिनुहुँदै रजिष्ट्रार उप्रेतीले शैक्षिक पात्रोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने तथा प्राविधिक शिक्षालाई विस्तार गर्दै लैजाने नीति अंगिकार गरेको, उच्च शिक्षालाई मुलुकको विकास र समृद्धिबीच अन्तरसम्बन्धित गरी उद्यमशिलता विकास गर्ने, स्वरोजगारको अवस्था सिर्जना गर्ने नीति रहेको बताउनु भयो । उच्च शिक्षा प्रदान गर्ने ३० देशका १६१ विश्वविद्यालयहरुसंग सम्झौता गरी संयुक्त अनुसन्धान र विद्यावारिधिका कार्यक्रमहरु सञ्चालन गर्न वातावरण बनाएको जानकारी दिनुभयो । उहाँले गत वर्षको शैक्षिक उपलब्धी प्रस्तुत गर्नुहुँदै ७० हजार ७७ विद्यार्थी उत्तीर्ण भएका, जसमा एमफिल गर्ने १७१, पिजिडीगर्ने २१४, विद्यावारिधि, एमसिएच डिएम गर्ने १०५ रहेको जानकारी दिनुभयो । साथै गत वर्ष नै व्यवस्थापन संकायबाट २२ हजार ७ सय ९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १३ हजार ६ सय ९५ र कानुन संकायबाट एक हजार ६ सय ६६ जनशक्ति उत्पादन भएका छन् भने विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार ४ सय ५२, इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ९ सय ७२ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा १ हजार ७ सय १९ जना, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा ५ सय ५ जना र वन विज्ञान अध्ययन संस्थानमा २६४ जना जनशक्ति उत्पादन भएको जानकारी गराउनु भएको थियो ।