• गृहपृष्ठ
  • मुक्तहलिया पुनःस्थापनको कार्यमा सहयोग गर्न तत्पर छु : मन्त्री मगर

मुक्तहलिया पुनःस्थापनको कार्यमा सहयोग गर्न तत्पर छु : मन्त्री मगर

Nov 30th, 2019

कञ्चनपुर, १४ मङसिर (रासस)

खानेपानीमन्त्री बिना मगरले मुक्तहलिया पुनः स्थापनको कार्यमा सहयोग गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।

आज कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा मतदान गर्न आइपुग्नुभएका मन्त्री मगरले मुक्तहलिया अगुवासँग भेटघाट गर्दै मुक्तहलिया पुनःस्थापनका लागि अपुग बजेटका लागि सम्बन्धित मन्त्रीसँग कुरा गरी बजेट थप्नका लागि पहल गर्ने बताउनुभयो ।

“यसवर्ष बजेट थप्न नसकिए अर्को वर्षको बजेटमा जिल्लाका सबै मुक्तहलिया पुनःस्थापन हुनेगरी कार्य अगाडि बढाउनका लागि मेरो प्रयास रहन्छ” उहाँले भन्नुभयो ।

राष्ट्रियमुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारलगायतले मन्त्री मगरसँग पुनःस्थापनमा परेका १६७ परिवार मुक्तहलियाको दोस्रो किस्ताको रोकिएको रु आठ करोड रकम निकासाका लागि पहल गरिदिन माग गर्नुभयो ।

उहाँले पुनःस्थापनमा पर्न नसकेका ‘क’ वर्गको परिचयपत्र पाएका ८७ मुक्तहलिया परिवारको चालु आवमै पुनःस्थापनका लागि कार्य अगाडि बढाइ दिन आग्रह गर्नुभयो ।

प्रत्युत्तरमा मन्त्री मगरले थप बजेटका लागि पहल गरिने अश्वासन दिँदै बजेट वृद्धिका लागि प्रयास जारी रहने बताउनुभयो । “सबै मुक्तहलिया परिवार पुनःस्थापन हुन भन्ने मेरो पनि चाहना हो”, उहाँले भन्नुभयो, “कुन निकायबाट बजेटको सम्बोधन गर्न सकिन्छ । त्यसका लागि कार्य गर्छु ।”