राष्ट्रपतिबाट रामको जन्तीलाई स्वागत

Nov 29th, 2019

जनकपुरधाम, १३ मङ्सिर (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको प्रतीकात्मक भगवान् रामको जन्तीलाई आज जनकपुरधाममा स्वागत र सम्मान गर्नुभएको छ ।
सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका लगाउनुभयो । उहाँले प्रतीकात्मक मिथिला राजा जनककी धर्मपत्नी सुनयनालाई पनि सम्मानलाई गर्नुभएको थियो ।

गोस्वामी तुलसीदासद्वारा लिखित ‘रामचरितमानस’ अनुसार त्रेतायुगमा बाह्रबिघामा नै धनुष यज्ञ हुँदा भगवान् रामले धनुषमा ताँदो चढाउँदा शिवधनुष खण्डित भएको थियो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सीतारामको विवाहबाट सुसंस्कारित मिथिला भूमिमा आयोजना हुने गरेको सीताराम विवाहपञ्चमी महोत्सव दुई मुलुकबीचको सेतु बन्न पुगेको बताउनुभयो ।

त्रेतायुगदेखिको अवध र मिथिलाबीचको सांस्कृतिक सम्बन्ध इतिहासमा सधैँ अविस्मरणीय रहने उल्लेख गर्दै उहाँले नेपाल र भारतको सांस्कृतिक तहमा विकसित अटुट सम्बन्धलाई सधैँ कायम राख्नु जरूरी छ भन्नुभयो । भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सांस्कृतिक र कूटनीतिक हिसाबले महत्वपूर्ण रहेको सीताराम विवाहपञ्चमीलाई उच्च सम्मान गर्नुपर्ने औँल्याउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल भारतबीच त्रेतायुगदेखिको बेटीरोटीको सम्बन्धलाई निरन्तरता दिन आवश्यक छ भन्नुभयो । प्रदेश नं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सीतारामको चरित्र उन्नत र संस्कारित समाजका लागि प्रेरणादायी रहेको बताउनुभयो ।अयोध्याबाट आएका प्रतीकात्मक दशरथको भूमिकामा रहनुभएका कन्हैया दासले रामको चरित्रलाई दिगो बनाउा सीताको अहम् भूमिका रहेको बताउँदै सीतारामको आदर्श मानवीय सभ्यता र संस्कृतिका लागि शिक्षाप्रद रहेको प्रसङ्ग उल्लेख गर्नुभयो । नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपाल भारतको सम्बन्ध धार्मिक, साँस्कृतिक एवं प्राकृतिक भएको बताउनुभयो ।

मूल समारोह समितिका संयोजक एवं जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अध्यक्षतामा भएको सो समारोहमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह र जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले महोत्सवको उपादेयताबारे प्रकाश पार्नुभभएको थियो । सो अवसरमा मिथिला नाट्य कला परिषद्का कलाकारद्वारा जानकी लीला (फूलावारी प्रसङ्गदेखि स्वयंवर)को प्रस्तुति भएको थियो ।