साग महिला भलिबल- नेपाल सेमिफाइनलमा

Nov 29th, 2019

काठमाडौँ, १३ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलतर्फ नेपाल सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेश भारतसँग ३–० ले पराजित भयो । पराजयसँगै बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको छ । भारतले बङ्गलादेशलाई २५–८, २५–११ र २५–९ अङ्कले हराएको हो । बङ्गलादेश लगातार दुई खेलमा पराजित भएको छ । बङ्गलादेश यसअघि बुधबार नेपालसँग ३–० ले हारेको थियो । नेपालले उक्त खेल २५–९, २५–९ र २५–११ अङ्कले जितेको थियो ।

नेपाल दोस्रो खेलमा बिहीबार भारतसँग २५–२६, १२–२५ र १६–२५ अङ्कले हारेको थियो । अब नेपालले सेमिफाइनलमा समूह ‘बी’को विजेता टोलीसँग खेल्नेछ । पाकिस्तानी महिला भलिबल टोली प्रतियोगिता खेल्न नआएपछि सो समूहमा रहेका श्रीलङ्का र माल्दिभ्स सेमिफाइनल प्रवेश गरेका छन् ।