• गृहपृष्ठ
  • अफगानिस्तान–वेस्ट इन्डिज टेस्टः तीन दिनमै अफगान टिम धराशायी

अफगानिस्तान–वेस्ट इन्डिज टेस्टः तीन दिनमै अफगान टिम धराशायी

Nov 29th, 2019

लखनऊ, १३ मङ्सिर (राससरएएफपी)

वेस्ट इन्डिज र अफगानिस्तानबीच लखनऊमा खेलिएको टेस्ट क्रिकेट तीन दिनभित्रै समाप्त भएको छ । वेस्ट इन्डिजका स्पिनर राखिम कोर्नवालको घातक बलिङका कारण अफगानिस्तानको टिम ९ विकेटले पराजित भएको हो । यी दुई टिमबीच तटस्थ खेल मैदानका रुपमा छानिएको भारतको लखनऊमा एक मात्र टेस्ट खेल हुँदैछ ।

वेस्ट इन्डिजका कोर्नवालले १० विकेट लिएपछि अफगानिस्तानको दोस्रो पालि १२० रनमै सीमित भएको थियो । जितका लागि केबल ३१ रनको चुनौती पाएको वेस्ट इन्डिजले तेस्रो दिन एक घण्टाभित्रै निर्धारित लक्ष ७.१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले तेस्रो दिनको पहिलो शत्रमा बाँकी तीन विकेट लिएका थिए । दोस्रो दिनको अन्त्यसम्ममा अफगानिस्तानले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाएको थियो ।

टस हारेर ब्याटिङको निम्ता पाएको अफगानिस्तानले पहिलो इनिङमा १८७ रन बनाएको थियो भने वेस्ट इन्डिजले २७७ रन बनाएको थियो । अफगानिस्तानले सन् २०१७ मा टेस्ट खेल्न मान्यता पाएको थियो, र यसै वर्षको शुरुमा दुई वटा टेस्ट खेल जितेको थियो । यसैवर्ष भारतविरुद्धको टेस्ट खेलमा अफगानिस्तान दुई दिनभित्रै पराजित भएको थियो, तर मार्च र सेप्टेम्बरमा क्रमशः आयरल्याण्ड र बंगलादेशलाई अफगानिस्तानले पराजित गरेको थियो ।