• गृहपृष्ठ
  • जापानका पूर्व प्रधानमन्त्री नाकासोनेको १०१ वर्षको उमेरमा निधन

जापानका पूर्व प्रधानमन्त्री नाकासोनेको १०१ वर्षको उमेरमा निधन

Nov 29th, 2019

टोकियो, १३ मङ्सिर (राससरएएफपी)

जापानका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जापानका निकै लोकप्रिय नेताको छवि बनाउनु भएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्तराज्य अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गर्नु भएको थियो । सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहनु भएका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याउनु भएको थियो । दोस्रो विश्वयुद्धपछि जापानलाई आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाउन नाकासोनेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग सुदृढ मैत्रीपूर्ण सम्बन्ध विकास गर्नुभएका नाकासोनेले जापानका लागि अमेरिका सदैब अति महत्वपूर्ण साझेदार मुलुक रहेको बताउने गर्नुहुन्थ्यो ।जापानको माथिल्लो सदनका सदस्य समेत रहनुभएका नाकासोनेका छोरा हिरोफुमी नाकासोनेको कार्यालयले आफ्ना बुबाको निधन भएको जानकारी दिनुभयो । तर उहाँले मृत्युको कारणका बारेमा विस्तृत केही उल्लेख गर्नुभएको छैन ।

पूर्व प्रधानमन्त्री नाकासोनेले दोस्रो विश्वयुद्धकालीन सम्झौताहरुमा फेरबदल गरी सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानको वार्षिक रक्षा बजेटको सीमालाई हटाउनु भएको थियो । जापानमा राष्ट्रवादी छवि बनाउनुभएका नेता नाकासोनेले जापानमा रेल र टेलिफोन अपरेटर प्रणालीलाई निजीकरण गर्नुभएको थियो । उहाँका आर्थिक नीतिहरु बजार उदारीकरणतर्फ केन्द्रित थिए ।

नाकासोनेले दोस्रो विश्वयुद्धकालीन तिक्ततालाई थाँती राख्दै चीन र दक्षिण कोरियासँग मैत्री सम्बन्ध विकास गर्नु भएको थियो । उहाँ दक्षिण कोरिया भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुनुभएको थियो । अप्रत्यक्ष कर प्रणालीमा व्यापक वृद्धि गर्ने योजना अघि सारेका कारण सन् १९८७ मा उहाँको पार्टी संसदीय निर्वाचनमा पराजित भएको थियो ।