सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

Nov 29th, 2019

काठमाडौं, १३ मंसिर

कैलाली, पर्सा, कपिलवस्तु र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कैलाली, जानकी गाउँपालिका ४ मुनुवा चोकस्थित सडकमा बिहीबार साँझ से.१ त.३९०४ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री जानकी गाउँपालिका ४ बेलपुर बस्ने खेमराज चौधरीकी ११ वर्षीया छोरी समिक्षा चौधरीको घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्सा, वीरगंज महानगरपालिका १६ नग्वास्थित सडकमा बिआर ०५ वाई ३१९५ नम्बरको मोटसाइकलबाट लडेर सोही मोटरसाइकलमा सवार भारत बिहार पुर्बी चम्पारण बस्ने ४५ वर्षीया उर्मिला देवीको बिहीबार बेलुका मृत्यु भएको छ । मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, कृष्णनगर नगरपालिमका ९ डेवाचोकस्थित सडकमा प्रदेश ३-०१-००५ ख ९२०८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका साईकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय जगराम कहारको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । साथै उक्त बसको ठक्करबाट घाइते भएका पैदलयात्री भारत घर भएका २३ वर्षीय लल्लु भाकारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी,कोशी गाउँपालिका १ स्थित राजमार्गमा को.२ त ४०८३ नम्बरको ट्याक्टरलाई को.१ च ८६६८ नम्बरको पिकअप भ्यानले शुक्रबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी ट्याक्टरमा सवार कोशी गाउँपालिका ५ बस्ने १५ वर्षीया तुलसी कुमारी सदाको गोल्डेन अस्पताल बिराटनगर हुँदै थप उपचारको लागि बिराटनगर नोबेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । फरार रहेका दुबै सवारी साधनका चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।