• गृहपृष्ठ
  • स्वीडेनका राजारानी छ दिने भारत भ्रमणमा आउने

स्वीडेनका राजारानी छ दिने भारत भ्रमणमा आउने

Nov 29th, 2019

नयाँ दिल्ली, १३ मङ्सिर (रासस/एएनआई)

स्वीडेनका राजा कार्ल सोह्रौ गुस्ताफ र रानी सिल्भियाले भारतको छ दिने भ्रमण गर्नुहुने भएको छ । उहाँहरूले आगामी डिसेम्बर १ देखि ६ तारिखसम्म भारतको भ्रमण गर्नुहुने तय भएको अधिकारीहरूले जनाएका छन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दको निमन्त्रणामा उहाँहरू भारत आउन लाग्नुभएको जनाइएको छ ।

स्वीडेनका राजाको भारत भ्रमण यो तेस्रो पटक हुन लागेको हो । यसअघि उहाँले सन् १९९३ र २००५ मा पनि भारतको भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा स्वीडेनका राजाले भारतका राष्ट्रपति कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस। जयशंकरलगायतका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उहाँहरूबीच दुई पक्षीय हित, साझा चासो र आपसी सम्वन्धलाई थप मजबुत गर्नेलगायतका विषयमा छलफल हुने भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।नयाँ दिल्लीको औपचारिक कार्यक्रमबाहेक राजदम्पत्ति मुम्बई र उत्तराखण्डको भ्रमणमा समेत जानुहुने कार्यक्रम छ ।