• गृहपृष्ठ
  • महिला भलिबलमा नेपाल भारतसँग पराजित: तेहौँ साग

महिला भलिबलमा नेपाल भारतसँग पराजित: तेहौँ साग

Nov 28th, 2019

काठमाडौँ, १२ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाली महिला भलिबल टोली भारतसँग पराजित भएको छ । भारतले नेपाललाई ३–० सेटमा हराएको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल २४–२२ अङ्कको अवस्थामा पुगेको थियो । त्यसपछि खराब खेल प्रदर्शन गर्दा जितबाट वञ्चित रह्यो । नेपालले पहिलो सेट २४–२६ अङ्कले गुमायो । दोस्रो र तेस्रो सेटमा भने भारत नेपालमाथि हाबी रह्यो । नेपाल दोस्रो सेट २५–१२ अङ्कले तथा तेस्रो सेट २५–१६ अङ्कले हा¥यो ।

यसअघि नेपालले बुधबार पहिलो खेलमा बङ्गलादेशलाई ३–० सेटले हराएको थियो । नेपालले उक्त खेल २५–९, २५–९ र २५–११ अङ्कले जितेको थियो । नेपाल महिला भलिबलको समूह ‘ए’ मा छ । उक्त समूहमा भारत र बङ्गलादेशसमेत छन् । समूह चरणको अन्तिम खेल शुक्रबार भारत र बङ्गलादेशबीच हुनेछ । सो खेलमा भारतले बङ्गलादेशलाई हराए नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ ।