• गृहपृष्ठ
  • सीमा रक्षाका लागि कञ्चनपुरमा सङ्कलन गरिएको हजारौँ हस्ताक्षर प्रमलाई बुझाइयो

सीमा रक्षाका लागि कञ्चनपुरमा सङ्कलन गरिएको हजारौँ हस्ताक्षर प्रमलाई बुझाइयो

Nov 28th, 2019

भीमदत्तनगर, १२ मङ्सिर (रासस)

दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि कञ्चनपुरमा सङ्कलन गरिएको हजारौँ हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि रक्षाका लागि युवा जागरण राष्ट्रिय अभियानले सङ्कलन गरेको हस्ताक्षर जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको हो । सीमा रक्षाका लागि युवा जागरण राष्ट्रिय अभियानका संयोजक मदन गिरीले मङ्गलबारबाट महेन्द्रनगरमा सङ्कलन गरिएको हस्ताक्षर सङ्कलन गरिएको बताउनुभयो ।

पछिल्लो समयमा भारतले आफ्नो नक्सामा सार्वजनिक गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा रक्षाका लागि सरकारलाई नागरिकस्तरबाट दबाब दिन हस्ताक्षर सङ्कलन गरिएको संंयोजक गिरीले बताउनुभयो । “मातृभूमि रक्षाका लागि युवा एकजुट भएर शान्तिपूर्ण तवरबाट सरकारलाई कूटनीतिक पहलका लागि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान सङ्कलन गरेका हौँ”, गिरीले भन्नुभयो, “कुनै पनि हालतमा भूमि अतिक्रमण सह्य हुँदैन ।” सीमा रक्षाका लागि करिब पाँच हजार नेपालीले हस्ताक्षर गरी अभियानमा ऐक्यबद्धता जनाएको संयोजक गिरीको भनाइ छ ।

ज्ञापनपत्रमा लिपुलेकदेखि पश्चिमतर्फ झण्डै ३७६ वर्गकिलोमिटर पनि नेपालकै भूमि भएको उल्लेख गरिएको छ । “भारतीय पक्षबाट पटकपटक राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि प्रहार हुँदासमेत सरकार चुप लागेर बस्नु हुँदैन”, ज्ञापनमा उल्लेख छ । विज्ञप्तिमा सरकारले तत्काल कालापानीमा रहेका भारतीय सेना हटाउन अग्रसरता लिनुपर्ने र सीमा क्षेत्रमा सुरक्षा बल स्थापना अभियानको समेत माग गरिएको छ ।

यहाँको भीमदत्तनगरस्थित मदन चोक, बसपार्क, सुदूरपश्चिम विश्वविद्यालय, पश्चिमी सीमानाका गड्डाचौकीलगायत विभिन्न स्थानमा हस्ताक्षर सङ्कलन गरिएको थियो ।