• गृहपृष्ठ
  • साग खेलकुदका सम्पूर्ण टिकट अनलाइन मार्फत, इसेवाबाट सहजै टिकट उपलब्ध हुने

साग खेलकुदका सम्पूर्ण टिकट अनलाइन मार्फत, इसेवाबाट सहजै टिकट उपलब्ध हुने

Nov 28th, 2019

काठमाडौं, १२ मंसिर
दुई दशकपछि नेपालमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को टिकट अनलाईबाट विक्री गर्नका लागि टिकटिङ पार्टनरमा इसेवालाई नियुक्त गरिएको छ । यससँगै राजधानी काठमाडौमा हुने भलिबल, फुटबल, बास्केटबल र क्रिकेटको टिकट दर्शकले इसेवा मार्फत सहजै खरिद गर्न सकिनेछ ।

दर्शकले साग डट इसेवा डटकम डट एनपीमा गइ आफुले हेर्न चाहेको खेलको टिकट खरिद गर्न सक्नेछन् । टिकट खरिद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाईल नम्बर राखेर आफ्नै मोबाईलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिनेछ । हरेक टिकटमा दर्शकको नाम, मोबाईल नम्बर र युनिक क्यूआर कोड रहनेछ । दर्शकले प्रवेशद्धारमा आफ्नो टिकट र परिचयपत्र अनिवार्य देखाउनु पर्नेछ । उक्त टिकट रियल टाइममै भेरिफाई हुने र आइडी कार्ड देखाएपछि दर्शकले प्रवेश पाउनेछन् । यो टिकटिङ प्रणालीले टिकटमा हुने कालोबजारी र फर्जी टिकटको समस्याको समाधान गर्नेछ ।

यस्तै यसपटक फुटबल म्याचमा सिट नम्बर सहितको टिकट उपलब्ध रहेकाले आफ्नो टिकटमा उल्लेखित सिट नम्बरमा बसेर खेल हेर्न सकिनेछ । इसेवा एकाउण्ट भएका व्यक्तिले सिधै मोबाईलबाट टिकट खरिद गर्न सक्नेछन् । इसेवा एकाउण्ट नभएका व्यक्तिहरूले नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (इसेवा जोन तथा पोइन्ट) मा गइ अनलाइन टिकट खरिद गर्न सकिनेछ । उपत्यका लगायत नेपालभर इसेवाका ६५ हजार भन्दा बढी जोन पोइन्ट रहेका छन् ।

यसअघि पनि इसेवाले आइसीसी, एन्फा अर्न्तगत विभिन्न अन्तर्राष्ट्रिय खेलहरूको सफल टिकटिङ र प्रवेश व्यवस्थापन गरिसकेको छ । इसेवा नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भुक्तानी सेवा प्रदायक हो । सन् २००९ बाट सञ्चालन रहेको इसेवामा २५ लाख ग्राहक रहेका छन् । इसेवामा ५५ बैंक तथा वित्तिय संस्था र ६० हजार भन्दा धेरै सेवाहरू रहेका छन् ।