तीन हजारको लोभमा गयो इज्जत

Nov 28th, 2019

काठमाडौं, १२ मंसिर
तीन हजारको घुस काण्डमा परेका सरकारी कर्मचारी विरुद्ध अख्तियार दुरूपयोग अनुसान्धान आयोगले विशेष आदालतमा मुद्दा दायर गरेको छ । आयोगले विहिबार यातायात व्यवस्था कार्यालय काठमाडौं गुर्जुधाराका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित पाँच जनाविरूद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो ।

ती कर्मचारी विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत आएका मोटरसाइकल पास गर्न सहज बनाउने भन्दै तीन हजार घुस लिएको आरोपमा गत कात्तिक २७ गते आयोगको नियन्त्रणमा परेका थिए । आयोगले शाखा अधिकृत भट्टराई, किरण देउला, उत्तम विक्रम शाही, रमेशकुमार केसी खड्का र सुरेश छुस्याकीलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूले भ्रष्टाचार गरेको पुष्टि भएसँगै आयोगले विषेश अदालतमा जरिवाना र कैद माग गर्दै बिहीबार अदालतमा आरोप पत्र दर्ता गरिएको अख्तियारले जनाएको छ । आयोगले प्रतिवादी देउलालाई एक हजार, केसी खड्कालाई पाँच सय, छुस्याकीलाई एक हजार र शाहीलाई पाँच सय बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको हो ।