• गृहपृष्ठ
  • पर्वतका दुई सहकारीको जालसाजी धन्दा, के गर्दैछ सम्बन्धित निकाय ?

पर्वतका दुई सहकारीको जालसाजी धन्दा, के गर्दैछ सम्बन्धित निकाय ?

Nov 28th, 2019

गोपाल जिसी
पर्वत, १२ मंसिर

कुश्मा नगरपालिका वडा नं ६ की कल्पना विश्वकर्माले पर्वतका दुई सहकारीबाट ऋण लिईन् । आफै शेयर सदस्य रहेको कुश्मा–६ स्थित सदाबहार विश्वास कृषि सहकारी संस्था लि.बाट २० लाख र ऋणी सदस्य रहेकी कुश्मा–५ स्थित सिताराम कृषि सहकारी संस्थाबाट १० लाख रुपैयाँ ऋण लिईन् । २०७३ साल ६ महिना १८ गते सदरमुकाममा रहेको २२९६ नं कित्ताको घडेरी जग्गा धितो राखि लिएको २० लाख रुपैयाँको साँवा ब्याज तिर्दै आएकी विश्वकर्मालाई सहकारीले ऋण तिर्न मानसिक दबाब दिदैं आयो ।

सहकारीबाट जग्गा धितो राखी २० लाख ऋण लिएकी विश्वकर्माले ऋण लिँदा सही छाप लगाएको तमसुक, त्यसपछि बारम्बार थप भएका तर नच्यातिएका तमसुक र सहकारीलाई दिएको खाली चेकले अहिले उठीबास लगाएको ऋणी कल्पना विश्वकर्माले बताईन् । यता १० लाख ऋण उपलब्ध गराएको सिताराम सहकारीले पनि सोच्दै नसोचेको जालसाजपूर्ण कार्य गरेको ऋणी कल्पना विश्वकर्माको गुनासो छ । सिताराम कृषि सहकारी संस्थाले पनि संस्थामा सहीछाप लगाएको दुईवटा तमसुकको दुरुपयोग गर्दै एउटा व्यक्ति र अर्को सहकारीका नाममा तमसुक बनाएर ११ लाख ऋण तिर्न मानसिक दबाब दिएको विश्वकर्माको भनाई छ ।

ऋण लिंदा संस्थाको नियम भन्दै बजारी तमसुकका दुईवटा लिफामा सही छाप लगाएको र ऋण तिर्दा एउटै ऋण दुईवटा साहु बनेर आएपछि झनै पीडित बनेकी छु विश्वकर्माले भनिन् ‘सिताराम कृषि सहकारी संस्थाबाट १० लाख ऋण लिँदा ब्लैंक चेक समेत दिएकीले झनै अप्ठ्यारोमा परेकी छु ।’ विश्वकर्माले ऋण लिँदाका बखत दुबै सहकारीलाई ब्लैंक चेक दिएको र उक्त खाली चेकको आडमा फर्जि ऋण बनाईदिने भन्दै धम्की समेत आएको बताईन् ।

सहकारीबाट लिएको ऋणको चर्को ब्याज र हर्जनाले सडकमा पुगेकी ऋणी कल्पना विश्वकर्माले अहिले सदाबहार विश्वास कृषि सहकारी संस्था लि.लाई २७ लाख र सिताराम कृषि सहकारी संस्थालाई ११ लाख बढी रकम तिुर्नपरेको छ । सदावहार विश्वास कृषि सहकारीको ऋण लिँदा धितो राखेको जग्गा सोही सहकारीले ग्राहक खोजी बिक्री गरिदिएको र सहकारीलाई तिर्नुपर्ने सबै रकम ग्राहकले तिरिदिँदा पनि ऋणीले नबुझाएको भन्दै मुद्दा मामिलामा लागेको विश्वकर्माले बताईन् ।

सहकारी मार्फत बनाइएका जालसाजपूर्ण ऋणले आक्रान्त बनेकी विश्वकर्माले सहीछाप लगाएका तमसुकहरु पछि च्यातौला, नष्ट गरौँला भन्दै आलटाल गरी अहिले ति नै तमसुक र खाली चेकको दुरुपयोग गरी सहकारी संस्थालाई नै बदनामी गर्ने कार्य सहित ऋणीलाई टाट पल्ट्याउने धन्दामा लागेको भन्दै आँशु झारिन् ।

यता सिताराम कृषि सहकारी संस्थाका प्रबन्धक कमल तिवारीले आफ्नो सहकारीले ऋणीको उठीबास लाग्ने गरी कुनैपनि काम नगरेको बताए । उनले भने सहकारीको नियमानुसार ऋण लगेका ऋणीसँग नियमनुसार नै ऋण उठाउने गरेको बताए ।