• गृहपृष्ठ
  • टिपर दुघर्टनामा घाइते भएकाको २० घण्टापछि उद्धार

टिपर दुघर्टनामा घाइते भएकाको २० घण्टापछि उद्धार

Nov 28th, 2019

सिमकोट, १२ मङ्सिर (रासस)

हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नं को टिपर दुर्घटना हुँदा घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । घाइते भएका १३ मध्ये सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको हुम्ला जिल्ला अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको र मृतकको सङ्ख्या चार पुगेको छ ।

हिजो दिउँसो २ः०० बजे दुर्घटना भएको टिपरमा चारको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१, हेप्कागाउँका छिरिङ कर्मा तामाङ, नरी लामा, खार्पुनाथ–१ का बबरजङ्ग शाही रहेका छन् । मृतकको शव परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ ।

चालकले मदिरा सेवन गरी टिपर चलाएको प्रारम्भिक लक्षण पाइएको भए पनि रिपोर्टमा सो नपाइएको र अन्य विवरण प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयोे । दुर्घटनास्थलको कच्ची सडक खण्डमा दुई पटक सडकको उत्तरी र दक्षिण्ी भागमा टिपर ठोक्किँएको तेस्रो पटक दक्षिणी भागको भिरालो खण्डमा खसेको पाइएको छ ।

घाइते हुनेमा नाम्खा–१ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ, सिमकोट–६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, सिमकोट– ७ का नर सुनार, खार्पुनाथ–५ का धनसिंह भण्डारी, सर्केगाड गाउँपालिका–२ का चालक आनन्द तामाङ गरी १२ घाइते भएका थिए । घाइतेमध्ये ११ को नेपालगञ्जतर्फ उपचारका लागि लगिएको छ । दुर्घटनामा अन्य क्षतिको विवरण हालसम्म छानबिनको क्रममा नै रहेको बताइएको छ । घाइतेको अधिकांशको अवस्था गम्भिर छ ।

हुम्ला शोकमग्न, विद्यालय खुलेनन्

चारको दुर्घटनामा मृत्यु भएपछि मृतकका आफन्त र सिङ्गो जिल्ला नै शोकमग्न भएको छ । मृतकको दाहसंस्कारका लागि सिमकोटमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालयमा उपस्थित नहुँदा विद्यालयको पठनपाठन समेत प्रभवित भएको छ । सिमकोटमा रहेका तीन सरकारी र दुई निजी बोर्डिङ विद्यालयमा आज अघोषित नै बिदा भएको छ ।

घाइतेको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), ले एकमृष्ठ रु एक लाख नगद सहयोग कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीमार्फत जिल्ला समन्वय समितिका अध्यक्ष दानबहादुर रावतलाई प्रदान गरिएको छ । त्यसैगरी कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले रु १० हजार प्रदान गर्नुभएको र घाइतेको उपचार प्रदेश सरकारले नै गर्ने मन्त्री रावलले बताउनुभयो ।