• गृहपृष्ठ
  • दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा

दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा

Nov 28th, 2019

राजविराज, १२ मङ्सिर (रासस)

विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा एक व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नो छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्य लगाउनुभएको हो ।

बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २५० महिला र ३०० बालबालिकालाई न्यायो लुगा वितरण गरेको उहाँको पारिवारिक स्रोतले जनाएको छ । त्यस्तै अशक्तताका कारण उपस्थित हुन नसकेका २४ वृद्घवृद्घालाई समेत बेहुली र उनका बुबाले घरमै गएर न्यायो लुगा प्रदान गर्नुभयो ।

बेहुला पक्षका अभिभावकसमेतको सहमतिमा दाइजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी राहतस्वरुप गरीब असहायलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको बेहुलीका बुबा झाले बताउनुभयो ।

यता लत्ताकपडा पाएर खुशी भएकी उर्मिला सदाले दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामीजस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको बताउनुभयो । झाकी छोरी अभिलाषा र सप्तरीकै बलानविहुल गाउँपालिका–४ निवासी अमरनाथ झाका छोरा अमितबीच बुधबार बिनादाइजो विवाह सम्पन्न भएको थियो ।